

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा २०० भन्दा बढी क्यान्सर पत्ता लागिसकेको छ ।
नेपालमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएको छ । महिलाहरूमा भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर धेरै देखिएको छ ।
क्यान्सर लाग्नासाथ मान्छेको ज्यान नै जान्छ भन्ने कुरा शतप्रतिशत सही होइन । अपवादबाहेक प्रायस् क्यान्सर सुरुवाती समयमै पत्ता लागे पूर्ण निको हुन्छ । क्यान्सर लाग्ने बित्तिकै नेपालीहरूको दिमागमा उपचार खर्च एकदमै धेरै हुन्छ, उपचारको लागि विदेश लैजानुपर्छ भन्ने कुरा आइहाल्छ । किनकि धेरैलाई नेपालमा क्यान्सरको राम्रो र पूर्ण उपचार सम्भव छैन भन्ने पनि लाग्छ । तर नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ ।
रोगको पहिचान नै ढिलो
कुनै गम्भीर समस्या नभई बिरामीहरू अस्पताल पुग्दैनन् । मानौं कुनै बिरामीलाई अत्यधिक पेट दुख्यो भने ऊ पहिले पेटको जाँच गर्न अस्पताल जान्छ । पेटको डाक्टरले पेटको जाँच गर्छ नदुख्ने औषधि दिन्छन् । केही समय निको हुन्छ । त्यसपछि फेरि समस्या देखियो भने डाक्टरले सम्पूर्ण जाँच गराउँछन् । त्यसपछि मात्र बिरामी क्यान्सर डाक्टरकहाँ पुग्छन् । डाक्टरले कस्तो क्यान्सर हो, कुन स्टेजको हो भनेर मूल्याकंन गर्छन् । कुनै क्यान्सर पहिचान गर्न त भारत वा अन्य देशमा पठाउनुपर्छ । त्यसको रिपोर्ट आउन पनि समय लाग्छ । यसरी रोगको पहिचानमा नै धेरै समय लागेपछि समस्या झन् बढिसकेको हुन्छ । त्यसैले समयमै क्यान्सरको पहिचान गर्नेतर्फ व्यक्ति र सरकारले ध्यान दिनुपर्छ ।
क्यान्सरको पहिचान गर्न धेरै खर्च लाग्छ भन्ने भ्रम पनि छ । तर बिरामीले रगत जाँच, कलेजो जाँच, मिर्गौला जाँच, पिसाबको जाँच, हड्डीको जाँच र भिडियो अक्सरे गर्यो भने ७० देखि ८० प्रतिशत क्यान्सरको लक्षण देखिन्छ । लगभग चारदेखि पाँच हजार रुपैयाँमा क्यान्सरको पहिचान हुन्छ । त्यसैले ५० वर्ष काटेका व्यक्तिहरूले वार्षिक रूपमा यी जाँचहरू गर्नुपर्छ । जसले गर्दा पहिचान छिट्टै हुन्छ र उपचार पनि सहज हुन्छ ।
क्यान्सरको उपचार
नेपालमा क्यान्सर रोगलाई हेर्ने दृष्टिकोण नै अन्य रोगको भन्दा फरक छ । यो रोग लागेपछि ‘सम्पत्ति र मान्छे दुवै सकिन्छ’ भन्ने समाजमा धारणा छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रोगले भन्दा पनि चिन्ताले धेरै पिरोल्छ । रोग लाग्यो अब उपचार खर्च कसरी जुटाउने भनेर बिरामी लागि पर्छन् । जसले गर्दा उपचारमा ढिलाइ हुन्छ र रोग अझै बल्झिसक्छ ।
क्यान्सर रोग लाग्ने बित्तिकै सरकारले एक लाख रुपैयाँ बिरामीलाई दिने गर्छ त्यसबारेमा धेरैलाई थाहा नै छैन । आर्थिक स्थिति कमजोर भएका बिरामीहरूले पहिले सरकारले दिने एक लाख रुपैयाँ लिएर उपचार गर्दै अन्य उपचार खर्च जुटाउनतिर लागेको खण्डमा समयमा उपचार पनि हुन्छ र खर्च पनि कम लाग्छ ।
ढिलो पहिचान गरेर ढिलो उपचार भयो भने उपचार नै सम्भव नहुन पनि सक्छ । क्यान्सर मात्र होइन, ढिलो रोग पत्ता लागे मिर्गौलाको समस्या, मुटुको समस्या र अन्य समस्यामा पनि बिरामीको ज्यानै जाने खतरा हुन्छ । अन्य रोगको तुलनामा क्यान्सरको पहिचान ढिलो हुने भएकाले नै क्यान्सरको बिरामी अन्य बिरामी जस्तो पूर्ण रूपमा निको नहुन हो ।
उपचारपछि क्यान्सर निको हुन्छ
पहिलो, दोस्रो र तेस्रो स्टेजको क्यान्सर ८० देखि ९० प्रतिशत निको हुन्छ । त्यसमा १० देखि १५ प्रतिशत दोहोरिन पनि सक्छ । पाठेघरको मुखको क्यान्सर त झन् चौथो स्टेजको पनि निको हुन्छ । तेस्रो स्टेजसम्मको प्राय सबै क्यान्सर निको हुन्छ । चौथो स्टेजको क्यान्सर भने पाँचदेखि १० प्रतिशत मात्र निको हुन्छ ।
सरकारले दिने उपचार खर्चले धेरै क्यान्सरको उपचार सम्भव छ
सरकारले क्यान्सरका बिरामीलाई दिने सहुलियत एक लाख रुपैयाँले धेरै क्यान्सरको उपचार सम्भव छ । पहिलो, दोस्रो स्टेजको क्यान्सरमा ७० देखि ८० प्रतिशत खर्च त्यही रकमले धान्छ । सरकारी अस्पतालमा निजीको तुलनामा खर्च पनि कम लाग्छ, त्यसैले बिरामी आत्तिनुभन्दा पनि छिटो उपचार गर्नतिर लाग्नु पर्छ ।
यो सरकारले दिने रकम कसरी पाइन्छ भन्ने बिरामीले मेलोमेसो पाएका हुँदैनन् । जसले गर्दा बिरामीलाई यो झन्झटिलो होला भन्ने लाग्छ । तर क्यान्सरको उपचार खर्चबापत सरकारले दिने रकम पाउन झन्झटिलो छैन ।
सरकारको सहुलियत रकम लिन विपन्न बिरामीले स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई सिफारिस लिनुपर्छ । जसका लागि चिकित्सकको प्रेस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्छ । स्थानीय तहको सिफारिसको आधारमा बिरामीले सूचीकृत अस्पतालबाट सहुलियत रकम बराबरको सेवा निःशुल्क पाउँछन् ।
क्यान्सरको सबै बिरामीलाई एकै प्रकारको सहुलियत दिंदा बिरामी मारमा
सबै प्रकारको क्यान्सरको बिरामीलाई एक लाख रुपैयाँको सहुलियत रकम दिनु गलत हो । क्यान्सरको प्रकृति, स्टेजअनुसार सरकारले रकम थपघट गर्नुपर्छ । एक प्रकारको ‘कोरियोकार्सिनोमा’क्यान्सर १० देखि १५ हजारमा नै निर्मूल हुन्छ । पहिलो स्टेजको स्तन क्यान्सर पनि थोरै खर्चबाट पनि निको हुन्छ । तर तेस्रो र चौथो स्टेजको क्यान्सरको उपचरमा उपचार खर्च पाँच लाखभन्दा माथि पनि लाग्छ । त्यसैले सबै क्यान्सर बिरामीलाई एक लाख रुपैयाँ दिनुभन्दा क्यान्सरको प्रकृति र स्टेजअनुसार सहुलियत रकम दिइनुपर्छ ।
यही वर्षबाट सरकारले बच्चाको क्यान्सरमा लगभग ३० देखि ४० वटा औषधि निःशुल्क दिने भनेको छ । त्यसरी नै वयस्कका लागि पनि औषधि उपचार खर्चको बारेमा सरकारले सोच्नुपर्छ ।
क्यान्सरको उपचारमा पाटन अस्पताल अब्बल
क्यान्सरको औषधि अन्यको तुलनामा महंगो हुन्छ । दुई हजारदिख आठ लाखसम्म पर्ने औषधिहरू हुन्छन् । पाटन अस्पतालले अमेरिकाको ‘म्याक्स फाउन्डेसन’सँग समन्वय गरेर विभिन्न क्यान्सरमध्ये केही क्यान्सरको निःशुल्क औषधि उपलब्ध गराइरहेको छ ।
एक किसिमको रगतको क्यान्सर ‘सीएमएल’को सम्पूर्ण औषधि पाटन अस्पताल र भरतपुर अस्पतालमा निःशुल्क पाइन्छ । त्यस्तै ‘जिस्ट’ एक किसिमको पेटको क्यान्सर यसको पनि सम्पूर्ण औषधि निःशुल्क पाइन्छ ।
एक किसिमको फोक्सोको क्यान्सर ‘रोस वान’को औषधि, एक किसिमको मिर्गौलाको क्यान्सरको औषधि निःशुल्क पाइन्छ । साथै ‘मेटासेटिक’ स्तन क्यान्सरको औषधि पनि पाटन अस्पतालमा निःशुल्क पाइन्छ ।
सरकारी अस्पतालमा उत्कृष्ट डाक्टरहरू छन् । उपचार खर्च पनि कम लाग्छ, त्यसैले पाटनजस्तै अन्य सरकारी अस्पताललाई पनि व्यवस्थित र सर्वसुलभ बनाउनतर्फ सरकारले ध्यान दिनुपर्छ । सरकारी अस्पतालको क्षमता र गुणस्तर बढाउनैपर्छ ।
सरकारले उपचारमा सहुलियतभन्दा पनि क्यान्सरको रोकथाममा लगानी बढाउनुपर्छ
सरकारले रोग लागिसकेपछि उपचारमा सहुलियत दिनुभन्दा रोग नै लाग्न नदिन के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्नुपर्छ ।
वातावरण प्रदूषणको कारण हुने क्यान्सरलाई न्यूनीकरण गर्न वातावरण प्रदूषणलाई कम गर्नुपर्छ । मोटोपनको कारण हुने क्यान्सरको न्यूनीकरण गर्न प्रशोधित खाना, प्याकेट बन्द खानाको सेवनले स्वास्थ्यमा पर्ने असरको बारेमा जनचेतना फैलाउने कुरामा सरकारले चासो देखाउनुपर्छ ।
साथै सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सबै बालिकामा निःशुल्क उपलब्ध गराउने लगायतका कुरामा ध्यान दिएमा क्यान्सरको बिरामी नै कम हुन्छन् ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७