TRENDING

युवा यूएईविरुद्ध परिपक्व नेपाल

काठमाडौँ । विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोली निकै युवा छ । कप्तान रोहित पौडेल नै २० वर्षका मात्र भए । तर, यूएईसँग आइतबार सातौं स्थानको प्लेअफ सेमिफाइनल खेल्दा नेपालले आफूलाई परिपक्व महसुस गर्नेछ । युवा भए पनि नेपाली टोलीमा निरन्तर खेल्दै आएका खेलाडी छन् ।

यूएईको टोली निकै नयाँ छ । ब्याटर इथन कार्ल डिसुजा भर्खर १७ वर्षका भए । अलराउन्डर आयान खान पनि १७ वर्षकै हुन् । विकेटकिपर आर्यांश शर्मा १८ वर्षका मात्र छन् । अर्का ब्याटर अली नासिर १९ र वृत्या अरविन्द र सञ्चित शर्मा २१ वर्षका भए । आयान र वृत्या टोलीमा स्थान बलियो बनाइसकेका भए पनि अन्य खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव निकै कम छ ।

जिम्बावे आउनुअघि वेस्ट इन्डिजसँग खेलिएको तीन खेल शृंखलाबाट डिसुजाले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो खेल विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध थियो । नासिर र २४ वर्षे ब्याटर मोहम्मद जबदुल्लाहले पनि वेस्ट इन्डिजसँगको शृंखलाबाटै एकदिवसीयमा पाइला टेकेका थिए । अर्यांश र सञ्चितले मार्चमा नामिबियामा भएको विश्वकप छनोट प्लेअफबाट ‘डेब्यु’ गरेका थिए ।