TRENDING

आज र भोलि देशभर झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम

काठमाडौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक्दुई ठाउँमा ठूलो पानी परेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।

१० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ ।

मुख्य समाचारबाट थप समाचार