TRENDING

अब कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गरेको छ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको सदस्यता अनलाइन सम्बन्धमा व्यवस्था गरेको हो ।

अब कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेबसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्नेछन् । सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरी अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।

२यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया सुरु गरिसकिएको छ । नवीकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइनबाटै नवीकरण विवरण भर्नेछ । यसरी नवीकरण भएको व्यक्तिको सदस्यता नवीकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।