TRENDING

नेपालमा एकैदिनमा २१ जनाले गर्छन् आत्महत्या १

काठमाडौं । मृत्युका विविध कारणमध्ये आत्महत्या प्रमुखमध्येकै रुपमा अगाडि देखिएको छ । पछिल्लो तथ्यांकलाई केलाउँदा नेपालमा आत्महत्याका घटना कीर्तिमानतर्फ लम्केको छ ।

चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा देशभर ६ हजार ९ सय ६३ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ । जसलाई गहिरिएर हेर्ने हो भने एकै दिनमा सरदर २१ जनाभन्दा बढीले आत्महत्या गर्छन् भन्ने बुझिन्छ ।

यसमध्ये ३ हजार ४ सय ९८ पुरुष, एक हजार ९ सय ८३ महिला, २ सय ४२ बालक र ४ सय ४४ जना बालिका रहेका छन् ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका थिए । त्यसअघि एकै आर्थिक वर्ष यति धेरैले आत्महत्या गरेका थिएनन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा देशभर ६ हजार ८ सय ३० वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका थिए । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा नेपालमा मासिक औसतमा ५ सयभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिएको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार ३ सय ६५ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा एक हजार १ सय ५६, मधेश प्रदेशमा ९ सय १४, बागमती प्रदेशमा ८ सय ४२, गण्डकी प्रदेशमा ६ सय ६२, कर्णाली प्रदेशमा २ सय ५१, सुदूर पश्चिम प्रदेशमा ५ सय ५ र काठमाडौं उपत्यकामा ४ सय ७२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।