TRENDING

बजेट पुस्तकबाट हटाईदिए प्रदेशको नाम स् पर्यटन तथा उड्यनमन्त्री सुजन किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको वार्षिक विकास कार्यक्रमको पुस्तकमा प्रदेशको नाम हटाइदिएका छन् । प्रदेशसभाबाट दुई तिहाइले पारित नाममा असन्तुष्टि जनाउँदै उनले पुस्तकमा नाम लेख्न नचाहेका हुन् ।

आइतबारको संसद् बैठकमा मन्त्री किरातीले प्रदेशहरूको नाम नलेखी नम्बर मात्रै लेखेर संसद्मा प्रस्तुत भएपछि विरोध भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेपछि आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयमाथिको छलफल हटाइएको थियो । सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री किरातीलाई स्पष्ट पार्न समय दिए । किरातीले नाम सच्याएपछि पुनः वितरण गरिने प्रतिबद्धता जनाएका थिए । नाम सच्याउनुको सट्टा उनी मंगलबारको बैठकमा नम्बरसमेत नराखी प्रस्तुत भए ।

संविधानले संघीय संसद्लाई जति स्वायत्त बनाएको छ, त्यति नै प्रदेशसभालाई अधिकार दिएको छ । तर, प्रदेशसभाबाट पारित नाममा संघीय मन्त्री किरातीले असन्तुष्टि जनाउँदै बजेट पुस्तिकाबाट हटाइदिएका हुन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रतिनिधिसभाका सांसदलाई वितरण गरेको पुस्तकमा प्रदेशको नाम उल्लेख नभएपछि प्रतिनिधिसभामा विवाद भएको छ ।

पर्यटन मन्त्रालयले आइतबार सांसदलाई उपलब्ध गराएको पुस्तकमा प्रदेशको नामको सट्टा नम्बर प्रदेश १, २, ३ ,७ मात्रै लेखेपछि प्रतिनिधिसभाले फिर्ता पठाएको थियो । मन्त्री किरातीले ११ देखि १८ पेजसम्म प्रदेशको नाम उल्लेख नभई अंकमा लेखिने भएकाले सुधारेर सदनमा पेस गर्ने बताएका थिए । सच्याएर पुनः मंगलबार वितरण गरेको भनिएको पुस्तकमा पहिला उल्लेख भएको त्यही नम्बरसमेत नराखी सांसदलाई वितरण गरेपछि विवाद बल्झिएको हो ।

एमाले सांसद सूर्य थापाले मंगलबारको बैठकमा पर्यटन मन्त्रालयको विनियोजन पुस्तकबाट सबै प्रदेशका नाम हटाइएको भन्दै आपत्ति जनाए । ‘पहिले प्रदेश नम्बर १, २, ३ लेखिएको थियो । अहिले प्रदेशको नाम नै हटाइएको छ । प्रदेशको नाम किन हटाउनुभयो रु यो पुस्तक फेरि फिर्ता पठाइयोस्,’ थापाले भने, ‘कोशीदेखि सुदूरपश्चिमसम्मको नाम पूर्ववत् राखेर सच्याएर ल्याइयोस् ।’