TRENDING

१६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका दादुराबाट सङ्क्रमित

काठमाण्डौ । दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाण्डौ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको छ ।

यी १६ जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार प्रकोप धेरै देखिएका यी चार जिल्लामा दादुरा विरुद्धको खोप लगाउन छुटेका २ लाख १५ हजार भन्दा धेरै बालबालिकालाई खोप दिइएको छ । छुटेका अन्य बालबालिकाको पनि खोजी भइरहेको छ ।

यस्तै, अहिले खोप अभियान चलिरहेको ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी भइरहेको छ । यी जिल्लाका १६ लाख ८० हजार भन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार दादुराको संक्रमण रोकथामका लागि जोखिममा रहेका बालबालिकालाई खोप लगाउनुपर्छ । दादुराको संक्रमण भइसकेकालाई भने खोप दिनु हुँदैन । उनीहरुको स्वास्थ्यमा देखिएको लक्षणका आधारमा उपचार गर्नु पर्ने डाक्टर लालले जानकारी दिनुभयो ।

ज्वरो आएको छ भने ज्वरोको र निमोनिया भएको छ भने त्यसकै उपचार गर्नु पर्ने डाक्टर विवेककुमार लालले बताउनुभयो । ज्वरो आउनु, नाकबाट सिँगान बगिरहनु, शरीरमा बिबिरा देखिनु दादुराको लक्षण भएकाले यस्ता लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन र डाक्टर तथा स्वास्थयकर्मीको सल्लाह अनसुार उपचार गर्न उहाँको सुझाव छ । यस्तै, दादुराको संक्रमण भएका बालबालिकालाई घरका अरु परिवारका सदस्य भन्दा छुट्टै राखेर हेरचाह र उपचार गर्न पनि डाक्टरको सल्लाह छ ।