TRENDING

काठमाण्डौ उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बर्खामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।

अहिले उपत्यकाका नदीमा बर्खामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुक्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी पूर्णरूपमा सुक्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।”

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न ठाउँमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी बर्खामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बाग्मती कोरिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बाग्मती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।

बाग्मती सफा गर्नका लागि ठोसमात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उहाँको धारणा छ ।