TRENDING

काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि

काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक विद्यालयमा ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखामा कार्यरत एक स्रोतकाअनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुना परीक्षणका लागि ल्याइएकोमा आज ४ जनामा संक्रमण देखिएको हो ।

ती अधिकारीले भने–‘त्यहाँको एक विद्यालयमा करिब ५० जना विद्यार्थीहरुमा दादुराको शंकास्पद लक्षण देखिएको थियो । त्यहाँ विद्यार्थीहरुले खोप नलगाएको पाइयो । विद्यालय भएकाले पनि तीव्ररुपमा फैलिएको रहेछ ।’

विज्ञहरुकाअनुसार एकैपटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरालाई महामारीको रुपमा लिने गरिन्छ ।‘त्यो विद्यालयमा यसअघि कोभिडविरुद्धको खोप लगाउनका लागि गाह्रो भएको थियो । भित्र जानै नदिने । लगाउनै नमान्ने थिए । खोप नलगाएका कारण नै संक्रमण फैलिएको हो,’ ती अधिकारीले भने ।

खोपशाखाअनुसार दादुरा नियन्क्रणकालागि संत्रमित बिरामीको दुर्त गतिमा व्यवस्थापन भइरहेको छ । आउँदो शुक्रबार समुदाय तथा सरोकारवलाहरुको बैठक गरिने र आइतबार यदि आवश्यक भएमा दादुरा रुबेलाको खोप दिने योजना रहेको बताइएको छ ।