TRENDING

आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

काठमाडौ । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो ।

दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

कम्तीमा एक किमीको दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताउनुभयो । स्थानीय तहबाट माग भएअनुसार सरकार आफैँले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उहाँले बताउनुभयो । “पुल बनाउँदा समन्वय हुनुपर्छ । नयाँ रणनीति अनुसार झोलुङ्गे पुल सम्पन्न गर्नलाई अबको १०÷१५ वर्ष लाग्नसक्छ”, उपमहानिर्देशक साहले भन्नुभयो ।

उहाँका अनुसार पहिले एउटा पुल वा झोलुङ्गे पुलबाट अर्कोमा जानका लागि कम्तीमा एक घण्टाको दूरी राखिएको थियो । अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहानिर्देशक साहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुनसक्छ । अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने छ ।”

विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको उपमहानिर्देशक साहले बताउनुभयो । सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुङ्गे पुल बनाउने गरेको छ ।