TRENDING

मुग्लिन पोखरा सडक विस्तारका लागि डुम्रे बजारका घर भत्काइँदै

तनहुँ । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ मा रहेको डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । यो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्ड का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो ।

डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच वटा घर भत्काइएको छु, उहाँले भन्नुभयो, ुसडक मापदण्डभित्र रहेका सबै संरचना बिस्तारै हटाइन्छ ।

डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका प्रायजसो घर सडक मापदण्डभित्र बनेका छन् । त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ ।

उहाँका अनुसार यो खण्डमा ६ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ । उहाँले भन्नुभयो, ुघरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँु, अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने उहाँको भनाइ छ ।