TRENDING

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

काठमाडौ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ ।

विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।”

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।