TRENDING

४० जिल्लामा फैलियो लम्पी स्किन रोग ः मानिसमा नसर्ने र सङ्क्रमित पशुको दूध खेर फाल्नु नपर्ने

काठमाण्डौ । नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका रुपमा फैलिएको छ । पशु सेवा विभागका अनुसार गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको छ । अहिले देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको विभागको तथ्याङ्क छ ।

त्यस्तै, ६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागले जनाएको छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या पनि बढ्ने र ती किरा सक्रिय हुने भएकाले जोखिम कायमै छ ।

आफूले पालेका पशुचौपायामा लम्पी स्किन रोग देखिएपछि किसान चिन्तित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा।चन्द्र ढकालका अनुसार गाईभैँसीमा लाग्ने सङ्क्रामक यो रोग मुख्य गरी लामखुट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने गर्छ । अहिले उच्च गर्मी र लामखुट्टे तथा किर्ना सक्रिय हुने बेला भएकाले पनि पशुचौपाया जोखिममा परेका डा। ढकाल बताउनुहुन्छ ।

लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने गरेको छ । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्ट तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

तर यो रोग रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने डा।ढकालको भनाइ छ । ‘रोगी पशुको शरीरभरि घाउ नै घाउ भएको देखेपछि दूध दुहेर खान मन नलाग्नु स्वाभाविक हो, उहाँले भन्नुभयो,‘दूध खानु हुँदैन भन्ने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छैन । राम्ररी उमालेर खान सकिन्छ ।’