TRENDING

‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

काठमाडौ । विगत केही दिनदेखि धादिङसहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताउनुभयो । “देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय भएकाले अझै केही दिन वर्षा हुदैन”, उहाँले भन्नुभयो ।

उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । “तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो ।