TRENDING

उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो

काठमाडौँ । नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको छ ।

कोभिड–१९ को घट्दो प्रभाव तथा वैशाख अन्तिम साता विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको अन्त्यको घोषणासँगै नेपालले हवाई सेवामा अनिवार्य गरेको उक्त नियम हटाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार, हवाई यातायातमा कोभिड–१९ को संक्रमण फैलिन नदिन नेपालले अनिवार्य गरेका पछिल्लो पटकका हेल्थ प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले हटाएको हो ।
‘विदेशबाट नेपाल आउन अब मास्क, खोप कार्ड, पीसीआर जाँच चाहिँदैन, कोभिडअघिको सामान्य अवस्थाझैं यात्रुले हवाई यातायात गर्न पाउने भएका छन्,’ प्रवक्ता निरौलाले भने, ‘यो नियम नेपालभित्रका लागि हो । यदि नेपालबाहिर कुनै मुलुकमा अनिवार्य गरिएको छ भने त्यो चाहिँ बाहिर निस्किने यात्रुले पालना गुर्नपर्ने हुन्छ ।’

प्रवक्ता निरौलाले आन्तरिक उडानमा पनि यो नियम लागू भएको बताए । ‘कोभिडसम्बन्धी प्रोटोकलहरु अब कुनै पनि रहेन । प्राधिकरणले जारी गरेका कोभिडसम्बन्धी विमानस्थल तथा वायुयानका सबै मापदण्ड हटाइएको छ,’ उनले भने ।

उड्डयनसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिन प्राधिकरणले २०७९ असार १७ मा प्रकाशन गरेको पछिल्लो एरोनटीकल इन्फरमेशन पब्लिकेसन ९एआईपी०बाट कोभिड प्रोटोकल आइतबार हटाउने निर्णय गरेको थियो । उक्त निर्णय एआईपीमा राख्दै प्राधिकरणले नेपालमा उडान गर्ने दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा र आन्तरिक वायुसेवा कम्पनीलाई पनि जानकारी गराएको छ ।