TRENDING

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौं । इन्टर मिलानले लगातार दोस्रो सिजन कोपा इटालियाको उपाधि जितेको छ।
फाइनलमा फियोरेन्टिनामाथि २– १ गोलको जित हात पारेको हो। रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलमा सुरुवाती अग्रता लिएपनि फियोरेन्टिनाले जोगाउन सकेन। तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गरेका थिए।

च्याम्पियन्स लिगको फाइनालिस्ट इन्टर पहिलो हाफमै खेलमा फर्कियो। २९ औँ मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। उनैले ३७ औँ मिनेटमा गोल गरेपछि इन्टर २–१ ले अघि रह्यो।

दोस्रो हाफमा इन्टरले आफ्नो अग्रता कायमै राख्दा फियोरेन्टिनाले गोल फर्काउन सकेन। दुवै टोली युरोपियन प्रतिस्पर्धाको फाइनल खेलको तयारीमा छन्। इन्टरले च्याम्पियन्स लिगको उपाधिका लागि ११ जुनमा प्रतिस्पर्धा गर्दैछ ।

यस्तै फियोरेन्टिनाले युरोपा लिगको फाइनलमा ७ जुनमा वेस्टह्यामको सामना गर्नेछ। मिलानले सिरी ए अन्तर्गत नापोलीसंग ३–१ गोलको हार बेहोरेको टिमबाट फियोरेन्टिनाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो। रोमेलु लुकाकुलाइ पनि बेन्चमा राखिएको थियो।