TRENDING

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा

काठमाडौ ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्रीको ‘भिजन’अनुरुप नीति तथा कार्यक्रम आउन नसकेको बताउँदै सरकारले भूमि बैंकको अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना गर्ने हो भने नेपालमा भ्रष्टाचार अन्त्य गर्न सहयोग पुग्ने उहाँको तर्क छ ।

नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आएका रचनात्मक सुझावलाई समावेश गर्ने परम्पराको सुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक वृद्धिका लागि मुलुकको अर्थतन्त्रलाई टालटुल गर्नेभन्दा पनि संरचनागत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।