TRENDING

बागमती प्रदेशसहित पाँच वटा प्रदेशमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु

हेटौँडा। बागमती प्रदेशसहित पाँच वटा प्रदेशमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको यस आयोजना अन्तर्गत आयोजना कार्यान्वयन अवधिमा काष्ठफल, फलफूल र तरकारी एवं अन्य रैथाने बालीमा गरी ४० हजार घरधुरी समेटिने भएको छ ।

आयोजना लागु भएका पाँच वटा प्रदेशका सय वटा स्थानीय तहका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ काठमाडौँको आयोजना तथा बागमती प्रदेशस्तरीय आयोजना व्यवस्थापन एकाइ हेटौँडाको समन्वयमा बिहीबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा सन् २०२९ सम्म सञ्चालन हुने यस आयोजनामा १२ अर्ब ५५ करोड रुपियाँ खर्च हुने जनाइएको हो ।

आयोजना बागमती प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाका आठ स्थानीय तहमा सञ्चालन हुने छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ काठमाडौँका आयोजना निर्देशक राजेन्द्र कोइरालाले आयोजना अन्तर्गत कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया, पिकानट र ओखरको बगैँचा स्थापना गरिने जानकारी दिनुभयो । बगैँचा स्थापनामा नसमेटिएका घरधुरीलाई तरकारी तथा अन्य रैथाने बालीको उत्पादनमा समेट्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको हो । आयोजनाअन्तर्गत ५० लाख रुपियाँभन्दा माथिको अनुदानसम्बन्धी प्रस्ताव केन्द्रीय आयोजना व्यवस्थापन एकाइमा जाने र अन्य प्रस्ताव प्रदेश आयोजना कार्यान्वयन एकाइबाट सम्पादन हुने बताउनुभयो ।