TRENDING

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

काठमाडौ ।
प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा ९माओवादी केन्द्र० का मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

“आज निकै सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो”, मुख्य सचेतक पाण्डेले भन्नुभयो ।

उहाँका अनुसार संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्यनिरूपण सम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो । “संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । सहमतिका साथ संसद अगाडि बढाउनेमा एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ”, उहाँले भन्नुभयो ।