TRENDING

विश्वकप छनोट नेपालमा

काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ क्यान का अध्यक्ष चतुरबहादुर चन्दले बताए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने चन्दले जानकारी गराए । उनका अनुसार प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

‘आईसीसीले बुधबार इमेल पठाएर नेपाललाई प्रतियोगिता आयोजना गर्न दिन लागेको निश्चित गरेको छ, उसले सहभागी अन्य राष्ट्रलाई ट्वान्टी–२० विश्वकपको एसिया छनोट नेपालमा आयोजना गर्न लागेको जानकारी गराइसकेको छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘कीर्तिपुर र मूलपानीमा प्रतियोगिताका खेल हुने भनेको छ, मूलपानीमा अझ सुविधा थप्नुपर्ने जोड उनीहरूले गरेका छन् । हामीसँग त्यसका लागि समय छ, हामी त्यो सुविधा थप्नेछौं ।’

चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपालको पालो रहेको बताएको थियो । ‘आईसीसी एसिया टिमको चाहाना यस पटक नेपालमा प्रतियोगिता आयोजना होस् भन्ने थियो, त्यही अनुसारको पत्र हामीलाई पठाइसकेको छ, विभिन्न विषयका सम्झौताहरू पछि हुँदै जानेछन्,’ चन्दले भने ‘मूलपानीको विषयमा उनीहरूको चासो दर्शकका लागि सुविधा र आउटफिल्डको कुरा हुन सक्छ ।’