TRENDING

बाजुरामा फेरि भूकम्प, यो महिनामा मात्रै ६ पटक धक्का

काठमाण्डौ । बाजुरामा भूकम्प गएको छ । बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गइसकेको छ । यसअघि गएको २२ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गएको १५ गते पनि ५ दशमलव ९ र ४ दशमलव १ गरी दुई पटक भूकम्प गएको थियो । त्यस्तै १४ गते ४ दशमलव ९ र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’ भूकम्पविद् मुकुन्द भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प वा परकम्पपछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ ।