TRENDING

काठमाण्डौको ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गरिने

काठमाण्डौ । काठमाण्डौको मुख्य पर्यटकीय क्षेत्र ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गरिने भएको छ । काठमाण्डौ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गर्न लागेको हो ।

ठमेलभित्र सीसी क्यामरा जडान गर्नेबारे महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले हिजो स्थलगत अवलोकनसमेत गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाण्डौ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गर्न लागिएको जानकारी दिनुभयो । नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न पुग्ने गरेका छन् ।

सुरक्षालाई ध्यानमा राखेर ठमेलभित्रका सडकमा एक सयभन्दा धेरै सीसी क्यामरा जडान गरिने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले जानकारी दिनुभयो । काठमाण्डौभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाण्डौ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई छ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।