TRENDING

यार्चा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता

बझाङ । यार्चा टिप्न हिमाली दार्चुला र बझाङका पाटन उक्लिएका ६ जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन् ।

यार्चा संकलनका लागि पार्थी हिमाल क्षेत्रमा पुगेकी बझाङको सुर्मा–१ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहोरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् ।

दार्चुलामा मंगलबार दिउँसो पौने ३ बजे आएको हिमपहिरोमा फसेका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दार्चुलाको व्यासमा बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ । जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो ।