TRENDING

चितवन र तनहुँका सडकमा दिनभर गाडी बन्द, बेलुकी ६ बजेपछि खुल्ने

काठमाण्डौ । उपचुनावका कारण चितवन र तनहुँका सडकमा लामो र छोटो दूरीका सबै गाडी चलाउन रोक लगाइएको छ ।

बारामा भने लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व पश्चिम राजमार्ग लगायतका मुख्य सडक र अरु सहायक सडक खण्डमा भने अत्यावश्यक बाहेक कुनै पनि गाडी चलेका छैनन् ।

आज बिहान ६ बजेदेखि चितवनको क्षेत्र नम्बर–२ छुने सडक खण्ड धादिङ र नवलपरासीमा गाडी रोकिएका छन् । नवलपरासीतर्फ गैँडाकोट, रजहर र कावासोतीमा पनि गाडी रोकिएका छन् । त्यस्तै, मकवानपुरको हेटौँडा भएर चितवन चल्ने गाडीलाई पनि रोकिएको छ । ५ बजे चुनाव सकिएपछि बेलुका ६ बजेपछि मात्रै गाडी चल्ने ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक सेवाका गाडी एम्बुलेन्स, फोहर उठाउने, दूध बोक्ने तथा अनुमति लिएका गाडी भने चलेका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार पूर्व सूचना दिएर आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन–२ मा पर्ने राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको हो । चितवन–२ मा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् ।

राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका छन् । तर बेलुका ६ बजेपछि सार्वजनिक गाडी चल्न पाउनेछन् । यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ ।