TRENDING

चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा सार्वजनिक गाडी चलाउन रोक ः बारामा लामो दूरीकाबाहेक अन्य गाडी नचल्ने

चितवन । उपचुनावका लागि चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा आज सार्वजनिक गाडी चलाउन रोक लगाइएको छ । त्यस्तै बारामा पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीकाबाहेक अरु गाडीलाई बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज अत्यावश्यकबाहेक अन्य गाडी चलाउन रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उपचुनाव हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको छ । चितवन–२ मा पर्ने राजमार्गसहितका सबै सडकमा अत्यावश्यक सेवा एम्बुलेन्स र दमकलबाहेकका अन्य गाडी चल्न रोक लगाइएको छ । तर यसअघि प्रशासन कार्यालय चितवनले राजमार्गमा गुड्ने लामो दूरीका गाडीलाई चल्न दिने बताएको थियो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ । चितवन–२ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णयसँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।