TRENDING

कुशलको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

काठमाडौँ । कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कमजोर सुरुआतपछि सम्हालिँदै नेपालले आठ विकेटको क्षतिमा ३ सय १० रन बनाउँदै आफ्नो स्थितिलाई बलियो बनाएको हो । नेपालले वान डे इतिहासमा तीन सयमाथिको स्कोर बनाएको पनि यो पहिलो पल्ट हो ।

नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय इनिङ्स खेले । वान डे इतिहासमा यो नेपालको ऐतिहासिक ५०औं वान डे हो । यस्तै प्रतियोगिताकै यो पहिलो औपचारिक वान डे पनि हो । नेपाल र ओमान दुवै वान डे मान्यता प्राप्त टिम हुन् । नेपालको यसअघि उच्च स्कोर २ सय ९७ रन रहेको थियो र यो नेपालले पपुवा न्युगिनीविरुद्ध बनाएको थियो ।

एकदिवसीय क्रिकेटमा कुशल मल्लको पहिलो शतक
नेपालका लागि कुशलले १ सय ८ रन बनाए र यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलको सामना गरेर शतक पूरा गरे र यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको शतक हो । कुशलले समग्रमा ६४ बल खेले र त्यसमा नौ चौका तथा १० छक्का सामेल थियो । उनी आयन खानको बलमा आकिब इलियासद्वारा समातिए ।