TRENDING

आजदेखि एसईई परीक्षा शुरू, धादिङबाट ५ हजार ३ सय ८९ विद्यार्थी सहभागी हुँदै

धादिङ । एसईई परीक्षा २०७९ मा धादिङबाट ५ हजार ३ सय ८९ जना विद्यार्थीहरु सहभागि हुने भएका छन् । शिक्षा विकास समन्वय इकाइ धादिङको ईकाइ प्रमुख राजेन्द्र क्षेत्रीका अनुसार जिल्लाका १३ वटै पालिकामा २६ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ । नियमित तर्फ ५ हजार ८७ जना, प्राविधिक तर्फ २ सय ४७ जना र ग्रेड वृद्धि तर्फ ५५ जना यो परिक्षामा सहभागी हुने उनले बताए ।

देशभरबाट करिब ५ लाख परीक्षार्थी एसईई दिँदै
एसईई परीक्षामा यस वर्ष ४ लाख ८४ हजार २ सय २७ जना सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी हुँदै छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन् ।

यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कुल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।