TRENDING

एसईई परीक्षाको सबै तयारी पूरा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्रा एसईई परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापान सरकारको अनुमति लिएर जापानबाटै परीक्षा दिन लागेका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।