

– गणेश सिंह ठगुन्ना
जबसम्म राजनीतिको मूल ध्येय उत्पादन वृद्धि, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, शिक्षा, स्वास्थ्य र रोजगारीमा आमजनताको पहुँच स्थापित गर्नु हुँदैन र यी मुद्दा प्राथमिकतामा पर्दैनन्, उक्त देशको विकास हुँदैन । त्यस्तो देशमा सतही राजनीति चलिरहन्छ, देशको अर्थतन्त्र कमजोर हुँदै जान्छ, उत्पादन वृद्धिमा कुनै ध्यान दिइंदैन र अस्थिर जनताको मत आकर्षण गर्न राजनीतिज्ञहरू फगत सतही राजनीति र कोरा नाराहरूबाट जनतालाई दिग्भ्रमित गर्ने गर्दछन् ।
यो अस्थिरता र जनताको बीचमा रहेको उकुसमुकुसका बीचमा नयाँ नयाँ पात्रहरू विभिन्न नौटङ्कीहरूका साथ प्रकट हुन्छन् । जनताले आशाका साथ केही परिवर्तन पनि गर्न खोज्दछन्, तर परिमाणतः त्यही पुरानै सतही नारा, आधारविहीन निर्देशन र परम्परागत प्रणालीले नै निरन्तरता पाउने गर्दछ । यसले जनतामा व्यापक निराशा पैदा गर्दछ र कालान्तरमा त्यो निराशा व्यवस्था र देशको अस्तित्वको लागि गम्भीर संकट पैदा गर्दछ ।
नेपालको राजनीति आज यही परिदृश्यबाट अगाडि बढिरहेको छ । हामीले सियो पनि उत्पादन गर्न सकेका छैनौं । कृषिप्रधान देश भनेका छौं, तर तरकारी, दाल, चामल समेत आयात गरेर आपूर्ति गरिरहेका छौं । वितरणमा होडबाजी चलिरहेको छ । नयाँ नयाँ आश्वासनहरूको प्रतिस्पर्धा भइरहेको छ, तर देशको अर्थतन्त्र कर्मचारीहरूको तलबभत्ता समेत व्यहोर्न नसक्ने अवस्थामा पुगेको छ ।
विकास खर्चको लागि आन्तरिक र बाहृय ऋणमा निर्भर रहनुपरेको छ । देश यस्तो कहालीलाग्दो अवस्थामा रहेको छ, तर तीनै तहका सरकारहरूमा सिर्जित विभिन्न पदहरू र तामझामसहित भइरहेको खर्च हेर्दा राज्य भविष्यको चिन्ता छाडेर उपभोगमा रमाउने मानसिकताबाट चलिरहेको स्पष्ट हुन्छ ।
निकै अनुभवी र पटकपटक सत्ता चलाएका व्यक्तिहरू पनि आन्तरिक गृहकार्यविना विविध प्रकारका क्षणिक लोकपि्रयताको लागि निर्देशन दिइरहेका छन् । विनातयारी गरिएका यस्ता निर्देशन र घोषणाहरूले केही दिन त पीडित व्यक्तिहरूमा आशाको संचार गर्दछ तर केही समयपछि हात्ती आयो हात्ती आयो फुस्सा भने झै हुन्छ ।
वर्तमान सरकारले पहिलो निर्णय नै राहदानी बनाउँदा लाइन लाग्ने अवस्थाको अन्त्य गर्ने गर्यो । उक्त निर्णय स्वागतयोग्य थियो, तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
लाइनको अन्त्य कुनै निर्देशनले गर्दैन । यसको लागि त प्रतिदिन राहदानी लिने व्यक्तिको संख्याको आधारमा जनशक्ति र साधनस्रोतको व्यवस्था हो । त्यसप्रकारको आधार नै तयार नगरी गरिने निर्णयहरूले सरकारकै विश्वस्नियतामा समेत गम्भीर प्रश्नहरू खडा गर्दछ ।
दोस्रो बहुचर्चित बियष रहेको छ- सरकारी अस्पतालहरूमा उपचारका लागि बिरामीको पालो । आज हाम्रो देशमा स्वास्थ्यको अवस्था नाजुक छ । त्यहाँ शल्यक्रिया गर्नुपर्ने बिरामीले १ वर्ष पछिसम्म पालो कुर्नुपर्ने अवस्था छ । कतिपय गरिब बिरामीहरूको पालो आउँदासम्म मृत्यु भइसकेको हुन्छ ।
उपचारबाट जीवन जोगाउन सक्ने नागरिक समयमा उपचार नपाउँदा मृत्युको सिकार भएका छन् । यस्तो शासन प्रणालीलाई कसरी लोकतान्त्रिक व्यवस्था भन्न सकिन्छ ? कानुनी रूपमा भनिएला तर व्यवहारिक र नैतिक रूपले यो लोकतान्त्रिक व्यवस्था होइन । यो अवस्थाको अन्त्य कुनै पनि प्रधानमन्त्री र मन्त्रीले निर्देशन दिएर सम्भव हुँदैन । यसको लागि पर्याप्त संख्यामा अस्पतालको निर्माण गर्ने र त्यसमा पनि बिरामीको चापको आधारमा विशेषज्ञ सर्जन डाक्टरहरूको दरबन्दी स्थापना गरी पदपूर्ति गर्नु हो ।
एउटा अस्पतालमा एकजना सर्जन डाक्टरको दरबन्दी स्थापना गरी एकदिनमा एकसय जना बिरामीको अप्रेसन गर्न भनी दिइएको निर्देशनको कुनै औचित्य हुँदैन । बिरामीको चापको आधारमा दक्ष जनशक्ति, पर्याप्त भौतिक पूर्वाधार, आवश्यक बजेटको व्यवस्था गर्न सकिए निर्देशन बिना नै नागरिकले समयमा स्वास्थ्य सुविधा पाउने छन् ।
उत्पादन वृद्धि विना अब हाम्रो देशको अर्थतन्त्रलाई आगामी दिनमा धान्न सकिने अवस्था छैन । रेमिट्यान्समा आधारित अर्थतन्त्र कुनै पनि बेला क्षणभरमै ध्वस्त हुन सक्छ । कल्पना गरौं, यदि नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यहरू मलेसिया, खाडी देशहरूमा कुनै कारण मन्दी आयो भने रेमिट्यान्सविना हामी कति दिन टिक्न सक्छौं ? यसर्थ कृषिमा राज्यले पर्याप्त लगानी गर्दै कृषि उत्पादनको आयातलाई बन्द गरिनुपर्दछ । तब मात्र हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौं ।
पर्याप्त उद्योग स्थापना गरी स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्छ । यसले रोजगारी सिर्जना गर्दै वस्तु निर्यात गर्न सकिन्छ । वैदेशिक मुद्रा प्राप्तिको आधार तयार गर्न लगानी बढाउनु जरुरी छ । कच्चा पदार्थहरू विभिन्न देशबाट आयात गरी प्याकेज र एसेम्बल गर्ने होइन, यहीँको कच्चा पदार्थ प्रशोधन गर्ने उद्योगहरू स्थापना गरिनुपर्दछ । तब मात्रै देशको अर्थतन्त्र सुधार हुन्छ र देशमै रोजगारीको अवस्था सिर्जना हुन्छ ।
अहिले प्रदेश र स्थानीय तहहरूमा गएको खर्बौं बजेटको ठूलो हिस्सा भ्रष्टाचार र अनियमिततामा दोहन भइरहेको छ । राज्यका कुनै पनि निकायहरूले त्यहाँ भइरहेको अनियमितताको लेखाजोखा गर्ने प्रयास गरेका छैनन् ।
कर्मचारीतन्त्रले ती स्वायत्त सरकारहरू हुन्, हामीले केही गर्न मिल्दैन भन्ने र ती सरकारहरूले हामी जसरी पनि चल्दा हुन्छ भन्ने मान्यता विकसित हुँदै गइरहेको छ । यसले पछिल्लो समय जनतामा असन्तुष्टि बढाइरहेको छ ।
राजनीतिक कार्यकर्ताहरूमा भ्रष्टाचार गरी छोटो समयमै सम्पन्न हुने गलत प्रवृत्तिले प्रोत्साहन पाउँदैछ भने स्वच्छ छवि भएका व्यक्तिहरू कमजोर हुँदै गएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांकेतिक रूपमा केही मुद्दा चलाउने निकाय मात्र नभई हरेक अनियमितता र भ्रष्टाचारका घटनाहरूमा अनुसन्धान गर्नुपर्छ । यसका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना रिटायर्ड प्रशासकहरूबाट हैन, भ्रष्टाचार उन्मुलन र सुशासन सम्बन्धी उच्च शिक्षा हासिल गरेका प्राज्ञिक व्यक्तिहरूबाट गर्नुपर्दछ ।
यसका शाखाहरू जिल्ला स्तरसम्म विस्तार गरी भ्रष्टाचारीलाई तुरुन्त कारबाही गर्नुपर्छ । तब मात्र बजेटको ठूलो हिस्सा अपचलन रोक्न सकिन्छ ।
सरकारले तत्काल गर्नुपर्ने महत्वपूर्ण कार्य हो- सम्पत्ति छानबिन आयोग गठन । एक उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी राजनीतिक नेतृत्व, कर्मचारी लगायत सम्पूर्ण नागरिकहरूको सम्पति छानबिन गरिनुपर्दछ । अस्वाभाविक रूपमा आर्जन गरी कमाएको सम्पत्ति राष्ट्रीयकरण गरी उद्योगधन्दा, कलकारखाना निर्माणमा लगाए मात्र सुखी नेपाली र समृद्ध नेपाल कल्पना साकार हुन सक्छ ।
यस सन्दर्भमा विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका केही महत्वपूर्ण योजनाहरू अगाडि बढाउनुपर्छ । स्थानीय खानी उत्खनन्, औद्योगिक क्षेत्र स्थापना, प्रत्येक पालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण, प्रत्येक पालिकाको केन्द्रसम्म कालोपत्रे सडक पहुँच, प्रत्येक निर्वाचन क्षेत्रको रणनीतिक सडक कार्यक्रम लगायतका कार्यहरूलाई ओझेलमा नपारौं । यी परियोजनामा अत्यधिक बजेट विनियोजन गरी अगाडि बढाउनुपर्दछ । अब वितरणमुखी हैन उत्पादनमुखी बजेट निर्माण गरेर अगाडि बढ्नुपर्दछ । तब मात्र हामी सतही राजनीतिको यो दुश्चक्रबाट मुलुकलाई मुक्त गरी समृद्ध नेपाल निर्माण गर्न सक्दछौं ।
लेखक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन् ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७