TRENDING

बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री जम्मकट्टेलले तयारी गरेका हुन्।

गत पुस २५ गते जम्मकट्टेल प्रदेश संरचनाको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मकट्टेलसहित ३ सदस्यीय मन्त्रिपरिषद् छ। त्यसमा पनि एक जना मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन्।

कुनै पनि मन्त्रालयका जिम्मेवारी नपाएका उनी बधाई थाप्दै दिन बिताइरहेका छन् । पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले २६ गते शपथग्रहणलगत्तै २ जना मन्त्री नियुक्त गरेका थिए।

उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए भने राप्रपाका संसदीय दलका नेता उद्वव थापा विना विभागिय मन्त्री बनेका थिए । प्रदेशमा रहेको अन्य १२ वटा मन्त्रालय मुख्यमन्त्री आफैंले चलाइरहेका छन् ।

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।