

काठमाडौँ — विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको छ । राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार फ्रान्सबाट आडिमीयाको एक प्राविधिक टोली सोमबार काठमाडौं आइपुग्ने छ ।
नेपालले विद्युतीय राहदानीको सुरुआत गरेपछि पहिलो पटक ‘स्टोरेज’ मा समस्या भएको हो । नेपाल सरकारले २०७८ को मंसिर १५ देखि विद्युतीय राहदानी जारी गर्न सुरु गरेको थियो । जसको सम्पूर्ण जिम्मेवारी फ्रान्सेली कम्पनी आइडिमीयाले पाएको हो ।
‘पहिले–पहिले कुनै पनि व्यक्तिको फोटो, इ–हस्ताक्षर र हातको बायोमेट्रिक्स लिँदा करिब दुईदेखि तीन सेकेन्डमै मुख्य सर्बरमा गएर स्टोरेज ९जम्मा० हुन्थ्यो,’ महानिर्देशक यादवले भने,‘तर अहिले सर्बरमा देखिएको समस्याको कारण एक व्यक्ति फोटो, इहस्ताक्षर र हातको बायोमेट्रिक्स लिएपछि सर्बरमा स्टोरेज हुन करिब ३ देखि ५ मिनेट लाग्छ । जसले गर्दा काम गर्न ढिलाइ भइरहेको र सेवाग्राहीले सास्ती पाएका छन् ।’
आइतबारदेखि लगातार रुपमा सर्बरले नियमितभन्दा ढिलो काम गर्न थालेपछि विद्युतीय राहदानी लिन थप समय लाग्ने भएको हो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनु हुन अनुरोध छ,’ सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको थियो,‘साथै, नियमित रुपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राहीहरु बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन हुन समेत अनुरोध छ ।’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७