TRENDING

चितवन राष्ट्रीय निकुञ्ज भित्रको बाटो कालोपत्रेको माग गर्दै प्रधानमन्त्रि समक्ष ज्ञापन पत्र पेश

  • चितवन

    चितवनको माडीका युवाहरुले आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र पेश गरेका छन् । सम्वृद्धिका लागि युवा अभियान माडीको आयोजनामा सम्पूर्ण माडीबासीहरुको तर्फबाट पेश गरिएको ज्ञापन पत्रमा भरतपुर माडी सडक खण्डमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो मानव तथा वन्यजन्तु मैत्री हुने गरी कालोपत्रेका लागि निर्णय गरिदिन माग गरिएको छ।

    नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित भरतपुर पुग्नुभएका प्रधानमन्त्रि प्रचण्डलाई चितवनमा स्वागत गर्दै अभियानले ज्ञापन पत्र बुझाएको हो ।

    “हामी माडिबासी जनता लामो समयदेखी विभिन्न खाले पिडा र अफ्ठ्यारोमा रहेको कुरा यहाँहरुलाई अवगत नै छ , हामी माडीबासी जनताको तर्फबाट पहिलो पूर्ण मन्त्रिपरिषद्को बैठकबाट भरतपुर माडी सडकखण्डमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो मानव तथा वन्यजन्तु मैत्री रहनेगरी कालोपत्रेका लागि निर्णय गरिदिनुहुनेछ भन्ने विश्वासका साथ यो ज्ञापन पत्र पेश गर्दछौं,” ज्ञापन पत्रमा भनिएको छ ।

    जवाफमा प्रधानमन्त्रि प्रचण्डले आफ्नो ध्यानाकर्षण रहेको भन्दै सकारात्मक जवाफ दिनुभएको अभियानका अगुवा रामचन्द्र लम्सालले बताउनुभयो ।

    सोहि बिच प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थल प्रवेशका क्रममा माडीका युवाहरुले प्लेकार्ड प्रदर्शन सहितको ध्यानाकर्षण गराउँदा प्रहरीले धरपकड गर्नाले केहिछिनका लागि स्थिति प्रतिकुल समेत बन्न पुगेको थियो । यद्यपी प्रमले आफ्नो ध्यानाकर्षण भएको र सो बारेमा आफु सकारात्मक भएको बताउँदा माडीबासीमा खुसीको संचार भएको छ ।

    प्रचण्ड यसअघि माडी क्षेत्र समेट्ने चितवन ३ बाटै जनप्रतिनिधी बन्नुभएको थियो ।