TRENDING

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी

काठमाडौ  । बागमती प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न प्रदेश सरकारले तयारी गरिरहेको छ । सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी पुस १८ मा आह्वान गर्ने गरी तयारी भइरहेको हो ।

पुस २ गते निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई हस्तान्तरण गरेसँगै प्रदेशसभाको प्रक्रियागत कामको बाटो खुलेको थियो । संवैधानिक व्यवस्था अनुसार नै सबै प्रक्रिया पूरा गरी प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि सरकारले तयारी गरिरहेको उनले बताए ।

पुस ८ गते हुने सर्वदलीय बैठकमा सरकारको तर्फबाट उक्त विषयलाई प्रस्तावको रुपमा पेस गर्ने र निर्णय गराउने उनको भनाइ छ । प्रदेशसभा बैठक बस्नु अगावै सांसदहरुको शपथ ग्रहणको काम सम्पन्न गर्नु पर्ने भएकाले प्रदेशसभा सचिवालयलाई पनि सोही अनुसार पत्राचार गरिएको उनले जानकारी दिए ।