TRENDING

प्रतिस्पर्धी पाण्डेमाथि पौडेलको कटाक्ष, सांसद भएर अर्थमन्त्री बन्ने लक्ष्य

चितवन । ‘तपाईंले देखेको सपना र मैले देखेको सपना एउटै हो, आगामी मंसिर ४ त्यो सपना पूरा गर्ने दिन हो,’ चितवन क्षेत्र नम्बर १ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार डा. विश्व पौडेलको नारा हो ।

अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेलले जनताका घर घरमा पुगेर विकास र समृद्धि नै आफ्नो सपना भएको बताउने गरेका छन् । ‘जनताले विकास चाहेका छन्, शिक्षा, स्वास्थ्य र रोजगारी र राम्रो पूर्वाधारको सपना देखेका छन्, त्यही सपनालाई साकार पार्न म जनतामाझ आएको हुँ,’ पौडेलले भने ।

गएको शनिबार सत्ता गठबन्धनको चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा विकास बुझेको विद्वान् मान्छे डा. विश्व पौडेललाई पठाएको बताउँदै चुनाव जिताउन आग्रह गरे । त्यसले पौडेलका लागि चितवनमा सकारात्मक माहोल थपिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका पौडेल जनताको नजिक बसेर सेवा गर्ने मनसायका साथ निर्वाचनमा होमिएको बताउँछन् । ‘जनतालाई सुविधा हुने गरी कानून र नीति बनाउने ठाउँ संसद् हो, त्यसैले संसद्मा गएर ती काममा लाग्नेछु,’ उनले भने ।

यसअघि राष्ट्रिय योजना आयोगमा बसेका धेरै व्यक्तित्वहरू चुनावमार्फत संसद्मा गएको स्मरण गर्दै पौडेल राजनीतिमा आफ्नो संलग्नता स्वभाविक भएको बताउँछन् ।

प्रभावशाली युवा अर्थशास्त्री पौडेललाई धरैले भावी अर्थमन्त्रीका रुपमा समेत प्रक्षेपण गरेका छन् । तर, उनी आफैँ भने आफूलाई त्यस रुपमा चित्रित गर्न चाहँदैनन् । ‘भोलिका दिनमा पार्टीले दिएको जिम्मेवारी वहन गर्ने हो तर अहिले मेरो एकमात्रै उद्देश्य संसद्मा जानु हो,’ उनले भने।

पूर्वी चितवन विकासमा पश्चिम चितवनभन्दा धेरै पछाडि परेको उनी बताउँछन् । विगतमा नेतृत्व गर्नेहरूले राम्रोसँग जनताको काम नगर्दा पूर्वी चितवन पछाडि परेको दावी गर्दछन् । उनको सीधा संकेत नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रति छ । सो क्षेत्रबाट यसअघि पाण्डे निर्वाचित भएका थिए ।

पौडेललाई सत्ता गठबन्धनबाट कांग्रेससहित नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थन छ । पौडेलका लागि प्रतिस्पर्धी पनि कडा भएकाले नयाँ जोस र जाँगर बाकेर चुनावी मैदानमा होमिएका पौडेलका लागि जित निकाल्न निकै कठिन छ । चुनाव प्राविधिक विषय मात्रै नभएर जनताका घर घरमा पुग्नु पर्ने जनताका कुरा सुन्नु पर्ने अर्को ठूलो चुनौती रहेको छ। ‘अहिले म घर घरमा जनतासँग हातेमालोमा छु,’ पौडेलले भने।

कांग्रेसका बागी उम्मेदवार बनेर फिर्ता लिएका राजेन्द्र बुर्लाकोटीलाई विश्वासमा लिएर चुनावी प्रचारमा मैदान होमिएका पौडेल चुनाव जित्ने कुरामा ढुक्क छन् । ‘चितवनले नयाँ अनुहार र विकास खोजेको छ, म अर्थ र विकास दुवैमा जानकार छु, चितवनका जनताले विश्वास गर्ने आशा छ,’ पौडेलले भने ।

पश्चिम चितवनमा शिक्षा, स्वास्थ्य क्षेत्रमा त पूर्वभन्दा अघि थियो नै । पर्यटनमा समेत पूर्वी चितवनको सौराहालाई पश्चिम चितवनले पछि पार्न लागेकोमा पौडेल चिन्तित छन् । पूर्वाधारमा मात्रै होइन, यी क्षेत्रको विकासका लागि समेत आफूले पूर्वी चितवनको नारा अगाडि सारेको पौडेल बताउँछन् ।

पौडेललाई कति सहज ?

लगातार सांसद बन्दै आएका नेकपा एमालेबाट पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र नयाँ अनुहार भन्दै चितवनमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हरि ढकाल पौडेलकै क्षेत्रमा उम्मेदवार छन् । पौडेलका लागि ढकालको माहोल पनि टाउको दुखाई बनेको छ । तर पनि अहिले जनताले विस्तारै आफ्ना बारेमा बुझ्न थालेकाले पछिल्ला दिनहरूमा केही सहज हुँदै गएको पौडेल बताउँछन् ।

राजनीतिक रुपमा सुरेन्द्र पाण्डे शालिन र नेकपा एमालेभित्रका बौद्धिक छवि बनाएका नेतामा पर्दछन् । सोही कारण पनि पौडेलका लागि मैदान सहज भने छैन । पाण्डेले अघिल्लो पटक भारी मतसहित चितवन १ बाट विजयीसमेत भएका थिए । पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुवै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति भएकाले धेरैको ध्यान चितवन १ मा केन्द्रित छ ।

यसअघिको निर्वाचनमा पाण्डेले कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई करिब १६ हजार मतान्तरले पराजित गरेका थिए। त्यसबेला माओवादी र एमालेबीच गठबन्धन भएको थियो । तर, यसपटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मात्रै होइन एमाले पनि विभाजित भएको अवस्था छ । प्रदेशसभामा नेकपा समाजवादीका उम्मेदवारसमेतको साथ लिएर उनी हिँडेका छन् ।

पूर्वी चितवनका तीन नगरपालिकामध्ये एउटा राप्ती नगरपालिकामा नेकपा समाजवादीले मेयरमा जितेको छ । बाँकी दुई नगरपालिकाहरू रत्नतगर र खैरहनीमा कांग्रेसले जितेको छ। यसअघि यी तीनवटै नगरपालिका एमालेले जितेको थियो । त्यसैले पनि पौडेल जीतप्रति निकै आशावादी छन् । ‘पूर्वी चितवनका जनताले तीनवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरी परिवर्तनको थालनी गरेका छन्, यो अभियानलाई बीचमै रोक्नुहुँदैन । त्यसैले संसदीय निर्वाचनमा मलाई जिताएर त्यसलाई पूरा गर्नेछन्,’ आत्मविश्वासका साथ पौडेलले भने।

विगतमा स्थानीय नेतासँग मात्रै प्रतिस्पर्धा गरेका पाण्डे यतिबेला योजना आयोगको उपाध्यक्ष बनिसकेका व्यक्तिसँगको प्रतिस्पर्धामा छन् । पौडेलले योजना आयोगमा रहँदा नै धेरै योजनाहरू चितवनमा लगेका कारण पनि प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ । योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर प्रतिनिधिसभाको उम्मेद्वार बनेका डा. पौडेल पूर्वअर्थमन्त्री पाण्डेमाथि भारी पर्नसक्ने आँकलन पनि गरिएको छ ।

आयोग उपाध्यक्षको पद सम्हालेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका पौडेलले चालु आर्थिक वर्षको बजेटमा पनि चितवन केन्द्रित ठूलै योजनाहरू सुरु गराएका छन् । पौडेलले चितवनको विकास गर्न काठमाडौं–चित्लाङ–चितवन द्रुतमार्गको योजना मात्रै होइन सुरुङमार्ग निर्माण बजेटमा नै समावेश गरेका छन् । १४ महिना उपाध्यक्ष हुँदा खानेपानी सडक पूर्वाधार, ग्रामीण विद्युतीकरणमा विशेष जोड दिएको बताउँदै आएका छन् । सुरुङमार्ग, नारायणी र त्रिशूलीको वैकल्पिक सडक निर्माणको योजनासमेत पौडेलले अगाडि सारेका छन् ।

‘मेरो प्रतिस्पर्धी सुरेन्द्र पाण्डे विगत १० वर्षदेखि सांसद भएर काम गर्नु भएकोले अहिले पूर्वी चितवन नयाँ अनुहार खाजेको छ,’ पौडेलले भने । अहिले चितवनको पश्चिमभन्दा पूर्व चितवन पछाडि परेकोले पनि जनताले नयाँ विकासप्रेमी सांसद खोजेको पौडेलको बुझाई छ । ‘म संसदमा गएँ भने विकासको आवाज केन्द्रसम्म र सरकारसम्म पु¥याउने काममा तल्लीन हुने छु, मेरो विज्ञता पनि यसमै छ,’ पौडेलले भने । सांसदहरूको काम कानून निर्माण गर्ने र जनताको समस्या समाधान गर्ने भएकोले योजना निर्माण सोही ढंगले गर्नेसमेत पौडेलले बताए ।

पौडेल सन् २०२० नोभेम्बरदेखि जुलाई २०२१ सम्म इन्नोभेटिभ इन्भेष्टमेन्ट कन्सल्टिङ ग्रुपको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । काठमाडौं युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रुपमा साँढे ३ वर्ष र ५ वर्ष ५ महिना असिस्ट्यान्ट प्रोफेसरका रुपमा काम गरेका छन् । यस्तै, सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठनमा इकोनोमिक एडभाइजरका रूपमा काम गरेका छन् । यसैगरी, सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताको काम गरेको अनुभव पनि उनीसँग छ ।

-विकासन्युजबाट