TRENDING

नेकपा एकीकृत समाजवादीको घोषणा पत्र सार्वजनिक, यस्ता प्रतिबद्धताहरु उल्लेख

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी  एकीकृत समाजवादीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको घोषणा पत्रमा विभिन्न ५५ नीतिगत प्रतिबद्धताहरु उल्लेख गरिएका छन् । नेकपा एसको घोषणा पत्रमा अहिलेको निर्वाचन प्रणाली अन्यन्त खर्चिलो  र भड्किलो हुँदै गएको सन्दर्भमा निर्वाचन प्रणाली सुधार गर्ने , सुशासन र पारदर्शिता , भ्रष्टाचारमा शुन्य सहनशीलता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड लगायतका प्रतिबद्धताहरु उल्लेख छन् ।

त्यस्तै १२ महिना अर्थात् वर्षभरिनै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा पत्रमा उल्लेख छ । नेकपा एसले नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न व्यापक व्यक्तिगत करदाताहरुलाई दाखिला गरेको करका आधारमा स्वास्थ्य उपचार बीमा पनि गराउने घोषणा गरेको छ । दर्ताविना कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने कानुनी व्यवस्थालाई पूर्णरूपमा लागु गर्ने  प्रतिबद्धता छ । आन्तरिक राजस्वबाट सरकारी खर्चको ८० प्रतिशतभन्दा बढी हिस्सा बेहोर्न सक्ने गरी करको दायरा बढाउने र कर प्रशासनमा व्यापक सुधार गर्दै त्यसलाई सुदृढ गर्ने उल्लेख छ ।

‘भन्सारमा हुने अनियमिततालाई रोक्न आधुनिक प्रणालीका जडान गर्ने, सीमा अनुगमत नियमित गर्ने, सबै छोटी भन्सारहरूमा पनि आवश्यक सुरक्षा व्यवस्थासहित जनशक्ति परिचालन गर्ने र चोरी निकासी हुने स्थानहरूको पहिचान गरेर त्यस्ता स्थानमा सुरक्षा पोष्टहरू स्थापना गर्न पहल गरिने छ’ घोषणापत्रमा भनिएको छ ।

तर, स्वरोजगारमुलक व्यवसाय, स्टार्टअप, घरेलु, ग्रामिण तथा साना उद्योगहरूलाई विनाशुल्क व्यवसाय र करमा दर्ता गर्ने गरी कानुनी व्यवस्था गर्ने र पाँच वर्षका लागि आयकरमा छुट दिने तर कर नतिर्ने, कर छल्ने तथा अधिविजकीकरण र न्यून विजकीरण गर्नेमाथि कडा–भन्दा कडा कानुनी कारबाहीको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । वैज्ञानीक समाजवादको लक्ष्य प्राप्तिका लागि आर्थीक सामाजिक रुपान्तरणका अभियान संचालन गरिने, आधुनिक कृषि र सम्पन्न कृषक, संरक्षित कृषि बजार, भूमीको वैज्ञानीक व्यवस्थापन, सिंचाइमा लगानी, पर्यटन विकास र संस्कृति संवद्र्धन, एक पालिका एक उद्योग ग्राम संचालन, बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्दै आधारभूत स्वास्थ्य उपचार नि:शुल्क गरिने लगायतका घोषणाहरु नेकपा एसले सार्वजनिक गरेको छ ।