

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनदेखि गृहजिल्ला झापाका विभिन्न कार्यक्रमहरूमा व्यस्त छन्। झापाको क्षेत्र नं ५ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली अहिले उनकै क्षेत्रमा आयोजित चुनाव प्रचार कार्यक्रमहरूमा व्यस्त रहेका हुन्।
केही दिनअघि काठमाडौँबाट झापा ओर्लनासाथ झापाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागिदिन भद्रपुरमा आयोजित राप्रपा र एमालेद्वारा आयोजित संयुक्त अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपस्थित भएका थिए।
राप्रपा र एमालेको संयुक्त कार्यकर्ता भेलामा चुनावपछिका योजना नेताले सुनाउलान् भन्ने धेरैले आश गरेका थिए। उक्त कार्यक्रममा न ओलीले नै भावी योजना सुनाए, न लिङ्देनले। ओलीको भाषणको अधिकांश समय त गठबन्धनका शीर्ष नेतालाई गाली गर्दै बित्यो। उनले कार्यक्रममा भनेका थिए, ‘सुन्दै कस्तो-कस्तो लाग्ने गठबन्धन।’
त्यतिमात्र होइन, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ओलीले उछिताे काढे। उनले भनेका थिए, ‘एकतिर छिमेकी देशको प्रधानमन्त्री बसेका छन्, अर्कोतिर हाम्रा प्रधानमन्त्री उङ्दै बसेका छन्।’ ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेलाको कुरा उठाएका थिए।
केही समय अघिसम्म जनता समाजवादी पार्टी तथा उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘देखिनसहने’ ओलीले भद्रपुरमा जसपा अब पनि राष्ट्रिय पार्टी कायम रहने बताएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि एक समय उनले ‘हिँड्न नजान्ने गाईको बाच्छाे’को संज्ञा दिएका थिए।
ओलीकै पार्टीबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि उनले हरेक कार्यक्रममा उछिताे काढ्ने गरेका छन् । उनले केही दिनअघि झापाको मेचीनगर नगरपालिकाको कार्यक्रममा पनि माधव नेपालको पार्टीको जमानत जफत हुन्छ भन्दै नेपालको चर्को आलोचना गरेका थिए। भद्रपुरमा पनि उनले सोही कुरा दोहोर्याए।
अब पार्टीले के गर्छ, भावी योजना के-के छन्, देशलाई यति वर्षमा यहाँ पुर्याउँछु। यी क्षेत्रमा काम गर्न जरुरी छ, प्राथमिकताका क्षेत्र यी हुन् भन्ने कुरा जनता सुन्न चाहन्छन्। तर ओलीले जुनसुकै कार्यक्रम अर्कालाई गाली गर्न बाहेक योजनाका कुरा सुनाउँदैनन्। बाँकी रहेको समय आत्मप्रशंसामा बित्छ। उनले भन्ने गरेका छन्, ‘हुलाकीमार्ग हामीले बनायौँ। रेल हामीले कुदायौँ। अस्पताल शिलान्यास गर्याैँ।’ जुनकुरा देखिएकै छ, त्यही कुरा सुनाउँछन् तर ‘अब यो गर्छौँ’ भन्न सकेका छैनन्।
कतिपय सर्वसाधारणले उनका भाषण सुनेर ‘सरकारमा बसेका बेला यी काम पनि नगरे के सुतेर बस्ने त?’ भन्ने गरेका छन्। उनकै क्षेत्रका मतदाता भन्छन्, ‘आफ्नै क्षेत्रमा पर्ने दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका र दक्षिण पूर्वी मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकीमार्गमा पर्ने रतुवा नदीको पुल झन्डै डेढ दशकदेखि अलपत्र छ। हुलाकी मार्ग मैले बनाएँ भनेर के सुनाइरहनु !’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७