

म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् ।
पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दशैं र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताए ।
‘अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्’, उनले भने, ‘यसपालीको दशैं तिहारमा हाम्रो समूहले सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।’ गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्छन् । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताए ।
‘झिनीया आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।’ बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौं र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताइन् ।
उनले हाल ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गरेका छन् । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताए । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन (प्रति १२ गोटा) झिनियाँलाई आकार अनुसार १३० देखि २०० सम्ममा बिक्री हुन्छ ।
बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताए । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताए ।
हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । रासस
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७