

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा महानगरको राजस्व करिब दोब्बरले वृद्धि भएको हो ।
महानगरको राजस्व संकलनमा ८३.१९ प्रतिशतले वृद्धि भएको काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । चालु आर्थिक वर्षको असोजसम्ममा सम्पत्ति, घरवाहल, सवारीसाधन कर, रजिष्ट्रेसन दस्तुर, नक्सा पास दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, पार्किङ शुल्क लगायतका क्षेत्रमा राजश्व संकलन वृद्धि भएको छ ।
विभागका प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा २ अर्ब ३५ करोड ८० लाख १८ हजार ३ सय ८५ रुपैयाँ राजश्व संकलन भएको छ । महानगरले गत आर्थिक वर्षको असोजसम्ममा १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ संकलन गरेकाे थियो । गत आर्थिक वर्षको असोजसम्मको तुलनामा महानगरले चालु आर्थिक वर्षको असोजसम्म एक अर्ब ७० करोड ८८ लाख ७ हजार ७ सय ८ रुपैयाँ बढी राजश्व संकलन गरेको हो ।
महानगरकाे गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
महानगरले कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको महानगरले बताएको छ । महानगरपालिकाले वर्षौंदेखि कर नतिर्ने ठूला तथा साना कम्पनीलाई निश्चित समय नै तोकेर कर तिर्न ताकेता गरेको छ ।
‘लामो समयसम्म कर नतिरेकाहरूले कर महानगरलाई बुझाइ रहेको छन्, कर तिर्नेहरूको संख्या महानगरमा दिनहुँ बढ्दो छ, अझै महानगरको राजश्व संकलनमा वृद्धि हुन्छ,’ उनले भने ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले कर नतिर्नेहरूलाई निश्चित समय दिएर कर संकलन गरिरहेको छ । यसअघि करको दायरामा आउन नमानेका संघ संस्थाले पनि यो वर्ष सम्पत्ति कर बुझाएका छन् ।
यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरूबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।
महानगरले नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरूबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरेकाे छ । यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको अधिकारीले बताए ।
गत आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति कर प्रस्तावित ८० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये महानगरले असोजसम्ममा यथार्थ ३० करोड ११ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ संकलन गरेकाे थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति कर प्रस्तावित एक अर्ब रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य लिएको छ । जसमध्ये असोजसम्ममा ४६ करोड ५० लाख ५३ हजार ५ सय ६१ रुपैयाँ राजश्व संकलन गरिसकेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाकाे गत आर्थिक वर्षमा घरवाहल कर १ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । उक्त लक्ष्यमध्ये गत वर्ष महानगरले असोजसम्ममा ५४ करोड ४० लाख ४४ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा महानगरले सो कर प्रस्तावित २ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य मध्ये असोज महिनासम्ममा ६३ करोड ७६ लाख ८ हजार ५१ रुपैयाँ राजश्व संकलन भएको महानरको जनाएकाे छ ।
यस्तै, सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने करको संकलन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कमि आएको छ । गत आर्थिक वर्षमा महानगरले सो कर ५ करोड रुपैयाँ सङ्कलन गर्ने योजना बनाएको थियो । त्यसमध्ये महानगरले असोज महिनासम्ममा ४ करोड ३६ लाख २४ हजार रुपैयाँ संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा महानगरले उक्त कर १० करोड रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य लिएको छ । सो रकममध्ये महानगरले असोजसम्ममा ५ करोड ५१ लाख ८५ हजार रुपैयाँ संकलन गरेकाे जनाएकाे छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७