

काठमाडौं । अमेरिकामा कामदारको अभाव बढ्दै गएको छ । त्यहाँ रोजगारका लागि खुलेका अधिकांश आवेदनमा भर्ने मानिसहरु छैनन् । १ सय जना कामदार माग भएकोमा औसतमा ३९ जनाको मात्रै आवेदन पर्ने गरेको लिन्ड्से क्याट्सले युएस च्याम्बरमा लेखेकी छन् । अहिले अमेरिकाको पुरै राज्यमा मजदुर अभावले प्रभाव पारेको छ ।
सन् २०२२ मा २ सय ८१ मिलियन मानिसहरु अन्तर्राष्ट्रिय रुपमा आप्रवासी हुने अनुमान गरिएको र ती मध्ये झण्डै दुई तिहाई अर्थात १ सय ६९ मिलियन श्रकिकहरु रहने फोब्र्सले जनाएको छ । कोभिड-१९ को महामारीले विश्वभर नै दक्ष मजदुरको उपलब्धतामा प्रभाव पारेको तथ्यांकहरुले देखाएका छन् । पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धले श्रम बजारमा थप प्रभाव पारेको छ । रसियन एसोसिएशन फर इलेक्ट्रोनिक कम्युनिकेशनका प्रमुख सर्गेई प्लगोटेरेंका अनुसार गएको मार्च २२ सम्म मात्रै ५० हजारदेखि ७० हजार प्राविधिक श्रमिकले रुस छोडे । उनका अनुसार अझै ७० हजार देखि १ लाख सम्म प्राविधिक श्रमिकले रुस छोड्न सक्ने उनको अनुमान रहेको फोब्र्सले उल्लेख गरको छ । रुसका आन्तरिक उपमन्त्री इगोर जुबोवले जुनको अन्तिम समयमा रुसले १ लाख ७० हजार आइटी श्रमिक अभावको सामना गर्नुपरेको बताएका थिए ।
कन्सल्टिङ अर्गनाइजेसन रिनुअलकी लिडर म्यारी लार्सनले एमएनपीमा यतिबेला क्यानडाका निर्माण कम्पनीहरुले श्रमिकको ठूलो अभाव खेपिरहेको लेखेकी छन् । द बिजनेस डेभलपमेन्ट बैंक अफ क्यानडा (बीडीसी) ले विभिन्न उद्योग, रियल स्टेट र निर्माण कम्पनीहरुमा श्रमिकको अवस्थाको बारेमा सार्वजनिक गरेको रिपोर्टअनुसार ५५ प्रतिशत उद्यमीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ भने ६४ प्रतिशत उद्योगीहरुलाई श्रमिकको अभावका कारण आफ्नो विकास गर्न समस्या भइरहेको छ । त्यस्तै सोही बैंकको रिपार्टअनुसार ५० प्रतिशत निर्माण क्षेत्रका व्यवसायीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ ।
ओइसीडी इम्प्लोइमेन्ट आउटलुक रिभ्युको २०२२ संस्करणले कोभिड १९ रिकभरीको लागि श्रम बजार र सामाजिक चुनौतिका विषयलाई समिक्षा गरेको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) मा आवद्ध मुलुकहरुमा वर्तमानमा रहेको समस्यालाई एक एक देशको गरेर केलाउँदै त्यहाँका सरकारहरुलाई उक्त संस्करणले सुझाव दिएको छ । उक्त रिपोर्टले ओइसीडीमा आवद्ध देशहरुमा २०२२ को आधा समयसम्म श्रमिक बजारमा समस्या क्रमशः न्यूनिकरण हुँदै गएको उल्लेख गरेको छ । त्यस्तै रिपोर्टले ओइसीडी कोभिड महामारीका कारण ५७ मिलियन श्रमिकहरुले रोजगार गुमाएको र कोभिड महामारीपश्चात ६६ मिलियन रोजगार सिर्जना भएको उल्लेख गरेको जनाएको छ ।
ओइसीडी आवद्ध मुलुकहरुलाई उक्त रिपोर्टले मुद्रास्फीतिको समयमा श्रमिक र रोजगारदाताबीच सामूहिक सौदाबाजीका लागि पहल गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै राम्रो रोजगारीका लागि श्रमिकहरुको क्षमता विकास र उनीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । उच्च ऋण र बढ्दो ब्याजको मारमा परेका कम आय भएका वर्गलाई लक्षित गरेर उर्जा र खाद्यान्नमा सहुलियत व्यवस्था मिलाउनुपर्ने उक्त रिपोर्टले सुझाव दिएको छ । ओइसीडी मुलुकमा अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, युनाइटेड किंगडम र संयुक्तराज्य अमेरिका रहेका छन् ।
कामदार भित्र्याउन आकर्षक भिसा नीति
एलएचएचले पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुले श्रमिक भित्र्याउनका लागि लिएको नयाँ नीतिबारे आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । सो रिपोर्टका अनुसार सिंगापुर सरकारले नयाँ मजदुर भित्र्याउनको लागि ३० हजार डलर मासिक पारिश्रमिक पाइने गरी नयाँ विशेष भिसा ल्याउन भएको छ । सो भिसामा जब अफरको जरुरत नपर्ने, श्रमिकले आफ्नो पार्टनर पनि लैजान सक्ने र आफ्नै कम्पनी समेत सेटअप गर्न दिने विशेषता रहने जनाइएको छ । आगामी जनवरीबाट सो भिसा खुलाउने एलएचएच रिपोर्टले उल्लेख गरेको छ ।
जर्मनीले पनि नयाँ कामदार भित्र्याउन विशेष भिसा ल्याउने भएको छ । सो देशले कामदार भिसामा आउने कामदारलाई ३ वर्षमा आफ्नो मुलुकको नागरिकता दिने एलएचएचले रिपोर्टमा उल्लेख गरेको छ । युकेको द नेशनल एकेडेमी फर फुड एण्ड ड्रिंक र ड्रिंक फेडेरेसनले नयाँ श्रमिकलाई लक्षित गरेर आकर्षक भिसा ल्याउन लागेको छ । सो भिसा प्राप्त गर्नका लागि डिप्लोमा तहमा उत्तिर्ण गरेका श्रमिकहरुले अनलाइनमार्फत निःशुल्क प्रशिक्षणमा सहभागी भएर आवेदन प्रकृयामा अगाडि बढ्न सक्छन् । श्रमिक लैजाने पासपोर्ट प्रकृयाका लागि विभिन्न ५७ वटा कम्पनी छनोट भएका छन् ।
धेरै पर्यवेक्षकहरुले अमेरिकाले ल्याएको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ म्यानुफ्याक्चरिङ क्षेत्रलाई फाइदा पुर्याउने जनाएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ । सो एक्टमा उच्चस्तरीय श्रमिक र क्लिन फिड इनर्जीसँग जोडिने नयाँ रोजगार सिर्जना गर्ने उद्योगलाई इन्सेन्टिभ दिने व्यवस्था गरिएको छ । विशेषगरेर जिवास्म इन्धन, तेल, ग्यास र कोइला उद्योगमा काम गर्ने कामदारलाई तलव बराबरकै इन्सेन्टिभ प्रयोग गर्ने कुरा उक्त एक्टमा समावेश गरिएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यसैगरी इट्लीको बैंकिङ र टेलिकम्युनिकेसन क्षेत्रले काम गर्ने कामदारलाई लक्षित गरेर नयाँ स्किम सहितको श्रम नवीकरण र सेवा तथा सुविधाको नयाँ सम्झौता गर्दैछ । चीन, ब्राजिल, युरोपियन ट्रेड युनियन कन्फ्रेडेसन, भारत र नर्वे लगायतका मुलुकले श्रमिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि नयाँ नीतिगत व्यवस्था तथा सम्झौताहरुको पहल गरिरहेका छन् । जसले गर्दा श्रमिकहरुलाई उद्यम क्षेत्रमा जोड्न सहयोग पुर्याउँछ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७