TRENDING

कुन ठाउँका कुन उम्मेदवारले फिर्ता लिए र कुन उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी , हेर्नुहोस् विस्तृत वितरण

काठमाडौं । आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका उम्मेदवारहरुले फिर्ताका लागि तोकिएको आजको समय सिमामा विभिन्न उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् भने कतिपयले फिर्ता लिएका छैनन् ।

यसरी दिइएको समयसिमा भित्रमा नाम फिर्ता लिने उम्मेदवारहरुमा सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् ।

यसैगरी धादिङ २ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रमेश धमलाले नाम फिर्ता लिएका छन् भने गठबन्धनका रामनाथ अधिकारी उम्मेदवार बनेका छन् । नेकपा एमाले र राप्रपा बीच सहमति भएको छ । राप्रपाका परशुराम तामाङले एमालेका खेम लोहनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश सभा २ मा धनबहादुर घलेले बुद्धिमान तामाङका भाई डम्बर तामाङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । भने धादिङ प्रतिनिधि सभा १ का राप्रपाका उम्मेदवार अजय प्रसाद रिमालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै स्याङ्जा १ ९क० मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । यस प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवार बनेकी थिइन् ।

ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन ।

उता चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

यस्तै काठमाडौं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । उम्मेदवारको तयारी अलि अघि देखि नै गर्नुपर्नेमा ढिलो मानसिकता बनेकाले नाम फिर्ता गरेको उनले बताए ।

यसैबिच उम्मेदवारी फिर्ता नलिनेहरु समेत प्रशस्तै रहेका छन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धादिङ १ क बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष नेत्रराज पौडेल र धादिङ २ ख बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकि त्रिपुरासुन्दरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष देवी पाण्डेले नाम फिर्ता लिएका छैनन् ।
निर्वाचन अधिकृत मानवबहादुर विष्टका अनुसार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फ २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी उम्मेदवार छन् । एमाले त्यागेकी गंगा चौधरीले पनि भर्खरै खुलेको दल हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अनुराग खड्का र नेकपा एमालेका गंगाराम भट्टराई तथा (ख) मा नेकपा माओवादी केन्द्रका इन्द्रजित चौधरी र एमालेका कुलबहादुर केसी उम्मेदवार छन् ।

त्यसैगरी चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गरेका थिए । ‘सभापति, उपसभापति र प्रदेश सभापतिले फोन गरेर उम्मेदवार फिर्ता गर्न भन्नुभएको थियो’, उनले भने ,‘मैले मानिँन । विश्व पौडेलको नाम फिर्ता गराउनुस् भनें ।’

यस्तै चितवन क्षेत्र नं. ३ मा सत्ता गठवन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरेनन् ।

भरतपुर महानगरपालिकाको मेयरमा पनि बागी उम्मेदवारी दिएर करीव १५ हजार मत ल्याएका पौडेलले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

उता कैलाली ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् ।

nirwachan