

रौतहट । निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै र सस्तोमा पनि पाइने भएकाले उम्मेदवारहरूले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रचारप्रसारका लागि अहिले उम्मेदवारहरूले धमाधम यस्ता गाडी भित्र्याउन थालेका छन् ।
भारतीय गाडी एकदिनको भन्सार तिरेर महिनौ दिनसम्म चलाइन्छ । पार्टीको झण्डा लगाएपछि सुरक्षाकर्मीले पनि जाँच गर्दैनन् । भारतीय नम्बरप्लेटका गाडीले नेपाल प्रवेश गर्दा दैनिक ५ सय रुपैयाँ राजस्व बुझाउनुपर्छ । मोटरसाइकलले १ सय ५० रुपैयाँ तिर्नुपर्छ । गौर भन्सार कार्यालयका अनुसार एक आर्थिक बर्षमा एउटा गाडीले ३० दिन मात्र भन्सार राजस्व बुझाउन पाउने प्रावधान छ । नेपाली नम्बरका जिपको दैनिक ५ देखि ७ हजार रुपैयाँ भाडा पर्छ । तर, भारतीय नम्बरका गाडी २–३ हजार रुपैयाँसम्ममा पाइन्छन् ।
गौर भन्सार कार्यालयका सूचना अधिकारी अभिजित सिंहले चुनावको बहानामा पारीबाट गाडी ल्याएर चलाउनेविरुद्ध स्थानीय प्रशासनले कडाइ गरे मात्र भन्सार राजस्व तिर्न आउने बताए । ‘जिल्लामा ५ सयको हाराहारीमा भारतीय सवारी सञ्चालनमा छन् । तर, १ सय जतिले मात्र दैनिक राजस्व तिर्छन्,’ उनले भने, ‘बाँकी त्यतिकै चलाउँछन् । प्रशासनले कडाइ गर्नुपर्छ ।’ जिल्लामा दलका नेता, कार्यकर्तादेखि मन्त्रीसम्मले भारतीय नम्बरप्लेटका सवारी प्रयोग गर्दै आएका छन् ।
उम्मेदवारी दर्ता गर्न जाने क्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपालगायत दलका नेताले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेका थिए । तर नेताहरूले भने भारतीय गाडी प्रयोग नगरेको दाबी गरेका छन् । रौतहटको क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार उद्धव रेग्मी आफूले भारतीय नम्बर प्लेटको सवारी प्रयोग नगर्ने बताए । कांग्रेसका देवप्रसाद तिमल्सिना पनि आचारसंहिताविपरीत हुने भएकाले भारतीय सवारी प्रयोग नगरेको दाबी गर्छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई के गर्ने भन्ने जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय लिने बताए । ‘आचारसंहितामा के भनिएको छ, नियमले मिल्छ–मिल्दैन रु भन्सार राजस्व तिरेको छरछैन रु सबै हेर्छौं,’ उनले भने, ‘दलहरूले नियम मिचेका छन् भने सजग गराउँछौं । निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गर्छौं ।’ सुरक्षा निकायले यसपटक पारिबाट नेपाल भित्रिने सवारीसाधनको निगरानी गर्ने जनाएको छ ।
भारतीय गाडी र चालकले चुनावको समयमा समस्या हुन सक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ । दुई वर्षअघि पनि कोभिड–१९ को बहाना बनाई भन्सार छलेर निर्बाध भारतीय नम्बरप्लेटका सवारीसाधन चलाइएको थियो । अब चुनावको बहाना बनाएर चलाउन थालेको सुरक्षाकर्मी बताउँछन् । जिल्ला प्रहरी र जिल्ला ट्राफिकले गत वर्ष भारतीय गाडीको अभिलेख राखेको थियो । यसलाई निरन्तरता दिन लागेको जिल्ला ट्राफिक प्रमुख विमला कठायतले बताइन् । ‘भारतीय सवारीसाधनको भन्सार राजस्व छरछैन हेर्छौँ । त्यसपछि दलहरूले प्रयोग गर्न पाउँछ–पाउँदैनन् बुझेर कारबाही हुन्छ,’ उनले भनिन्, ‘भन्सार राजस्व नतिरेका सवारीसाधनलाई जरिवाना हुन्छ ।’
अटोबाट थप समाचार
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७