TRENDING

यी ५ पूर्व अर्थमन्त्रीको चुनाव : तीन जना ‘ग्रिन’ र एक जना ‘रेड जोन’मा, एकको प्रतिस्पर्धा कडा

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ५ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेद्वारी दिएका छन् । बहालवाला अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् ।

चुनाव लक्षित गरेर राजनीतिक दलहरु दुई गठबन्धनमा विभाजित भएका छन् । सामान्यतया चुनाव सँधै पेचिलो र प्रतिस्पर्धात्मक हुने गर्छ नै । फेरि पनि यसपटकको चुनाव थप प्रतिस्पर्धात्मक बन्न पुगेको देखिन्छ । बहालवाला अर्थमन्त्री शर्मा र पूर्व अर्थमन्त्रीहरुको चुनावी प्रतिस्पर्धा हेर्दा केहीको निकै प्रतिस्पर्धात्मक र केहीको तुलनात्मक रुपमा सहज भएको अनुमान गर्न सकिन्छ ।

जनार्दन शर्मा

बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दिएका छन् । उनी सत्तारुढ गबन्धनको तर्फबाट साझा उम्मेद्वार हुन् । उनीसँग प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटा रहेका छन् । शर्मा विगतका निर्वाचनहरुमा निरन्तर रुपमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । १० वर्षे शसस्त्र युद्धको क्रममा माओवादीले आफ्नो आधार इलाकाको रुपमा विकास गरेको सो क्षेत्रमा तुलनात्मक रुपमा माओवादीको संगठनात्मक उपस्थिति बलियो रहेको छ ।

माओवादी भित्र प्रभावशाली नेताको रुपमा स्थापित शर्मा लामो समयदेखि सत्तामा निरन्तर रहेकाले सो निर्वाचन क्षेत्रमा भएका विकासका कामको पनि जस लिइरहने मौका पाएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा विवादित बन्न पुगेका शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि थप आत्मविश्वासका साथ शर्मा निर्वाचनमा होमिएको उनका निकटस्थ बताउँछन् ।

०७४ सालमा भएको निर्वाचनमा ३४ हजार ४ सय २ मतका साथ १८ हजार ७ सय ४३ मतान्तरले नेपाली कांग्रेशका गोपालजीजंग शाहलाई हराएका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका रहेको रुकुम पश्चिमका अधिकांश पालिकामा माओवादीले बिजयी हासिल गरेको थियो । ६ वटा पालिकामध्ये माओवादी एक्लैले ४ वटा पालिका प्रमुख र २ वटा पालिका प्रमुखमा नेपाली कांग्रेशले जित हासिल गरेको थियो । रुकुम पश्चिमको ६ वटा पालिकाको प्रमुखमा एमालेका उम्मेद्वारले जम्मा ६ सय मत हासिल गरेका थिए । स्थानीय तह निर्वाचनको आधारलाई हेर्दा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको लागि साझा उम्मेद्वार रहेका अर्थमन्त्री शर्मालाई एमाले उम्मेद्वारसँगको प्रतिस्पर्धा अत्यन्तै सहज हुने अनुमान गर्न सकिन्छ ।

वर्षमान पुन ‘अनन्त’

माओवादी उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेद्वारी दिएका छन् । यसअघि ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि अनन्तले रोल्पाबाट बिजयी हासिल गरेका थिए । उनले ४० हजार ६४७ मत सहित नेपाली कांग्रेशका अमरसिँह पुनलाई २० हजार ७४१ मतान्तरले हराएका थिए ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रोल्पाका अधिकांश पालिकामा माओवादीले बिजय हासिल गरेको थियो । १० वटा पालिकामध्ये माओवादी एक्लैले ७ वटा पालिकाको प्रमुखमा बिजयी हासिल गरेको थियो । १० वटा पालिका भएको रोल्पामा एमालेले एउटा मात्रै पालिकाको प्रमुख जितेको थियो भने अन्य २ पालिकामा मात्रै निकटतम् प्रतिस्पर्धी भएको थियो । त्यस्तै नेपाली कांग्रेशले २ वटा पालिकाको प्रमुखमा बिजय हासिल गरेको थियो ।

नेपाली काँग्रेससँग गठबन्धन गरेको र गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा अनन्तलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने देखिन्छ ।

विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराएका छन् । ०७४ सालमा भएको निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएर बिजयी हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४५ मत हासिल गरेका थिए ।

पूर्वअर्थमन्त्री पौडेलले यसपटक भने गठबन्धनका साझा उम्मेद्वार राजु गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् । एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेद्वार रहेका राजु गुरुङले नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त गरेका छन् । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा बुटवल महानगरको १ देखि १३, तिलोत्तमाको १ देखि ६ र सैनामैनाको १ देखि ४ वटा समावेश रहेको सो निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको आधार कमजोर रहेको देखिन्छ ।

तर, १ लाख २८ हजारभन्दा धेरै मतदाता रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आधारलाई हेर्दा भने एमाले सत्तारुढ गठबन्धनभन्दा कमजोर रहेको देखिन्छ । सो निर्वाचन क्षेत्रमा रहेका २३ वटा वडामध्ये कांग्रेसले १४ वटा वडामा, एमालेले ५ वटा वडामा र अन्यले बाँकी वडाको नेतृत्वमा बिजयी हासिल गरेको देखिन्छ । पुर्वअर्थमन्त्री पौडेलका प्रतिस्पर्धीलाई गठबन्धनले राम्रोसँग सहयोग गरेमा बिष्णु पौडेललाई एमालेको तर्फबाट निर्वाचन जित्न निकै चुनौतिपूर्ण रहने देखिन्छ ।

सुरेन्द्र पाण्डे

एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट बिजय हासिल गरेका पाण्डेले यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेद्वार डा. विश्व पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ ।

यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ ।

चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ ।

चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए । चितवन एकमा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् । त्यसैले पनि यी दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

ज्ञानेन्द्रबहादुर कार्की

पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा कार्कीले सोही निर्वाचन क्षेत्रबाट ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दै एमालेका उम्मेद्वार रमेश श्रेष्ठलाई पराजित गरेका थिए । यसपटक कार्कीले एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्नेछन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ , रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ ।