TRENDING

आसन्न निर्वाचनका उम्मेद्वारहरुको नामावली प्रकाशन आज

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २ हजार ५ सय २६ र प्रदेश सभा निर्वाचनका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ । आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेको छ । जन्ममिति फरक परेको भन्दै परेको उजुरीमा प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजेभित्र जवाफ दिइसक्नुपर्ने छ ।