TRENDING

एमाले सचिवालय बैठक : प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवारहरूबारे प्रारम्भिक छलफल

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवारहरूबारे प्रारम्भिक छलफल सुरु गरेको छ । बिहीबार मध्यराति सकिएको बैठकमा को को उम्मेदवार बनाउन सकिन्छ भन्ने छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । गुरुङले भने– ‘बैठकमा चुनाव १६५ वटा सिटमा कोको उम्मेदवार हुन सक्छ भन्नेबारे प्रारम्भिक छलफल सुरु भएको छ । प्रदेशसभाको ३३० का सिटमा पनि सम्भावित उम्मेदवारको बारेमा छलफल चलाएको छौँ । हेडक्वार्टरले परामर्श लिने काम गर्छ । आवश्यक र उपयुक्त समयमा उम्मेदवारको निर्णय हुन्छ।’

नामावली उपयुक्त समयमा अर्को बैठक गरेर बाहिर ल्याउने कुरा उनले बताए । उनले २१ वा २२ गतेतिर बैठक बस्ने जानकारी दिए । जित सुनिश्चित भएकालाई उम्मेदवारको प्राथमिकतामा राख्ने एमालेले जनाएको छ ।