TRENDING

दसैं अघिको अन्तिम कारोबार दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । बिहीबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा आइपुगेको छ । दसैं अघिको अन्तिम कारोबार दिन आज ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अब सेयर बजार दसैंपछि अर्थात असोज २३ गतेमात्र खुल्नेछ । नेप्से निरन्तरजसो घटेर १८१४ विन्दु आसपासमा आएपछि पुनः केही सकारात्मक बाटोमा लागेको हो । फेस्टिभ मुडका कारण खरिदबिक्री रकम प्रभावित भइरहे पनि सूचकको वृद्धिले केही आशा जगाएको छ । अब दसैं विदापछि पनि बजार सकारात्मक गतिमा अघि बढ्ने लगानीकर्ताहरुले अपेक्षा गरिरहेका छन । पुँजी बजारका लागि ब्याजदरबाहेक अन्य कोणबाट हेर्दा क्रमशः सुधारका पक्षहरु विकास हुँदै गएका छन । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएका छन । बैंकहरुमा निक्षेपमा सुधार हुँदै जाने संकेत देखिएको छ ।

अहिले बैंकहरुको ब्याजदर निकै उच्च विन्दुमा पुगिसकेको छ । उच्च विन्दुमा पुगेपछि फेरि ओर्लिने नै हो । यसर्थ, आम लगानीकर्ताले बजारको चक्रलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वाेपरि भूमिका रहने गर्छ । यसकारण सेयर बजारका लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास हुन आवश्यक हुन्छ । बजार घटबढ गरिन्छ । अर्थतन्त्र पनि चक्रमा चल्छ । यसको प्रभाव बजारमा सीधा पर्छ भन्ने ख्याल गर्नुपर्छ ।

विगत १३ महिनादेखि हाम्रो बजार वियरिस चक्रमा रहेको छ । ब्याजदर वृद्धि र तरलता अभावको चर्को मार सुरु भएपछि बजार पनि समस्यामा परेको हो । यही बीचमा अर्थतन्त्रमा पनि समस्या देखापर्यो । विशेषगरी उच्च आयात हुनु र निर्यातमा त्यस अनुसार सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्र बिग्रियो । तर अब विस्तारै बाह्य क्षेत्रमा सुधार देखिन थालेको छ । रेमिटेन्स वृद्धि हुन थालेको छ । पर्यटन क्षेत्रमा सुधार आउन थालेको छ । यसले विदेशी मुद्रा आर्जनमा सहयोग गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि घट्दो क्रममा रहेको छ ।

यता, बजारमा पनि लाभांशको सिजन सुरु भएको छ । सबल वित्तीय सूचक भएका राम्रो लाभांश क्षमता भएका कम्पनीहरुको सेयर मूल्य पनि निकै सस्तोमा किन्न सकिने अवस्था छ । लगानीकर्ताले समग्र पक्षमा विश्लेषण गरेर निर्णय लिन सक्नुपर्ने बजारका जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले रिस्क र रिवार्डलाई समेत ख्याल गर्नुपर्ने हुन्छ ।