TRENDING

आईपीओ निष्काशन गर्न अनुमति माग गर्दै तीन कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) अनुमति माग गर्दै थप तीन कम्पनीले आवेदन दिएका छन । मोदी इनर्जी लिमिटेडले भदौ ३१ गते, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले असोज ४ गते र मेन्छियाम हाइड्रोपावर लिमिटेडले साउन १८ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन ।

मोदी इनर्जीले ७२ करोड ५० लाख रुपियाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको छ । आईपीओ निष्काशनका लागि सनराइज क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक चयन गरिसकेको छ ।
यसैबीच सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले १ अर्ब २३ करोड रुपियाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । दाङ जिल्लामा अवस्थित उक्त कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

यता, मेन्छियाम हाइड्रोले १६ करोड २७ लाख ७५ हजार रुपियाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि यसअघि नै एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले असोज ९ गते विद्युत नियमन आयोगबाट आईपीओ निष्काशनको स्वीकृति पाएको थियो ।