TRENDING

राष्ट्रपति विरूद्ध सत्तारूढ ३ दलका युवा संगठनले विरोध प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सत्तारूढ तीन दलका भ्रातृ युवा संगठनले विरोध प्रदर्शन गर्ने भएका छन । बुधवार एक विज्ञप्ति जारी गर्दैं नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिष्ट लिग (वाइसिएल) अध्यक्ष सुवोधराज सेर्पालीले विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन ।

संसदको दुवै सदनबाट पारित नागरिकत विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित भएको उनीहरूको भनाइ छ । ‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले बिहीबार दिउँसो २ बजे माइतीघर मण्डलमा विरोध कार्यक्रम गर्ने पनि बताएका छन । सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष निकालेका थिए ।