TRENDING

चोलेन्द्र फर्कने खबरसँगै सर्वाेच्चको गेटमा विशेष सुरक्षा तैनाथ, कुनैपनि हालतमा भित्र छिर्न नदिने नेपाल बारको निर्णय

काठमाडौं । महाभियोग लागेर निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबरा सर्वाेच्च आउने कुरा आएसँगै सर्वाृेच्च अदातलको बाहिरी परिसरमा प्रहरी तैनाथ बढाइएको छ ।

संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।

यद्यपी निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएको समाचार छ । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ ।

पन्थीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘म आइतबार सर्वोच्च आउँदैछु, तयारी गर्नू भनेर जबराले निर्देशन दिनुभयो ।’ लगत्तै पन्थीले सर्वोच्च अदालतको नेतृत्व लगायतलाई यसको जानकारी गराउनुभएको थियो ।सोहि आधारमा सर्वाेच्च अदालतको मुल गेट बाहिर नियमित भन्दा बढि सुुरक्षा सतर्कता अपनाइएको देखिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गर्नुभएको छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताउनुभएको अनलाइन खबरले लेखेको छ। आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय पनि गरेको बताइएको छ । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भन्नुभयो, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिंदैन ।’

संवैधानिक व्यवस्था विपरीत जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानुन व्यवसायीहरुले उनलाई गेटमा रोक्ने तयारी गरेका छन् । यसअघि जबराको कार्य सम्पादनमा प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले तीन महिना लामो आन्दोलन गरेका थिए ।