TRENDING

बुधबार शेयरबजार ४७ अंकले बढ्यो, १ अर्बमाथि कारोबार

काठमाडौं । बुधबार शेयरबजार मापक परिसूचक नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुुमा उक्लिएको छ । आज बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.१९ अंकले बढेर ३८५.३६ बिन्दु कायम भएको छ । यस दिन कारोबारमा आएका २२७ वटा कम्पनीको ३१ हजारपटकको कारोबारमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँबराबरको ४६ लाख १८ हजार कित्ता शेयर किनबेच हुन गयो । अघिल्लो कारोबारका दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । यस्तै, १३ वटै उपसमूहका सूचक उकालो लाग्दा व्यापार र फाइनान्स समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

बजार बढेसँगै आज १८४ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने पाँचवटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा शेयरमूल्य बढेर प्रतिकित्ता २७३ रुपैयाँ कायम हुन गयो । यस्तै, बजार बढे पनि एनआईसी एशिया फ्लेक्सीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९ रुपैयाँ हुन गयो । साथै, आज सर्वाधिक शेयर कारोबार भने नबिल बैंकको भएको छ । यस बैंकको ६ करोड ५१ लाख ६९ हजार रुपैयाँबराबरको शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७९९ रुपैयाँ पुगेको छ ।