TRENDING

साफ यू-१७ च्याम्पियनसिपमा भुटानको सामना गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउन्डमा समूह ‘बी’ अन्तर्गत हुने खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाल आज जित निकाल्दै सुखद सुरुवातको योजनामा छ । भुटान पनि नेपाललाई हराएर पहिलो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३–० ले पराजित भएको थियो ।

साफ यू–१७ को नाममा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो । पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको यो प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरिएको थियो ।

यसअघि यू–१६ र १५ उमेर समूहमा यी दुई टोलीले दुई खेलमा एकअर्काको सामना गरेका थिए । जसमा दुवै खेल नेपालले जितेको छ । सन् २०१३ को साफ यू–१६ साफ च्याम्पियनसिपअन्तर्गत भएको पहिलो भेटमा नेपालले ७–० को जित निकाल्यो । २०१९ को साफ यू–१५ साफ च्याम्पियनसिपअन्तर्गतको पछिल्लो भेटमा नेपाल ६–० ले विजयी भएको थियो ।